काठमाडौँ । भारतको ओडिसास्थित कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको घटनाको विरोध गरेपछि त्यहाँ अध्ययनरत हजारौं नेपाली विद्यार्थीलाई कलेजबाट निस्कासन गरिएको छ ।
केआईटी कलेजमा बी। टेक। तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको गएराति शव फेला परेको थियो । प्रकृतिसँगै अध्ययनरत नेपाली विद्यार्थीहरूकाअुनसार उनलाई कलेजकै विद्यार्थी अधविक श्रीवास्तव नामका विद्यार्थीले निरन्तर दुर्व्यवहार गरिरहेका थिए । आफूमाथि भइरहेको दुर्व्यवहारको बारेमा प्रकृतिले कलेज प्रशासनमा करिब ४ हप्ता अगाडि नै उजुरी दिएकी थिइन् । तर, कलेजले यस विषयलाई गम्भीर रूपमा लिएको थिएन ।
उक्त उजुरी दिएको केही समयपछि फेब्रुअरी १६ को राति प्रकृतिको रहस्यमयी मृत्यु भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले विरोध सुरु गरे । विरोध प्रदर्शन गरेपछि कलेज प्रशासनले त्यहाँ रहेका करिब १४ सय विद्यार्थीलाई प्रहरी परिचालन गरी गाडीमा हालेर रेलवे स्टेशनमा पुर्याइदियो । त्यहाँबाट एकजना विद्यार्थीले नेपालभ्युजलाई सुनाए, “हामीलाई राती नै कलेजले बसमा हालेर, भुवनेश्वर र कटक स्टेशनमा ल्याएर राखेको छ ।”
प्रहरीले प्रकृतिमाथि दुर्व्यवहार गर्ने युवकलाई पक्राउ गरिसकेको ओडीसाबाट प्रकाशित हुने ओरिसा पोस्टले जनाएको छ । तर, कलेजले विद्यार्थीहरुलाई फिर्ता बोलाएको छैन । “हाम्रो सार्थी प्रकृति लम्साल बी। टेक। थर्ड एअरमा पढ्थिन् । उनलाई एउटा केटाले हर्यास गरिरहेको थियो । यस विषयमा उनले ४ हप्ता अगाडि नै कम्पलेन पनि गरेकी थिइन् । तर, कलेजले वास्ता गरेन् । हिजो राति उनको मृत्यु भयो । उनको मृत्युको कुरा कलेजले दबाउन खोज्यो,’ एक नेपाली विद्यार्थीले भने, ‘हामीले त्यसको विरोध गर्यौं । त्यसपछि यहाँ रहेका सबै नेपाली विद्यार्थीलाई राती नै बसमा हालेर भुवनेश्वर र कटक रेल स्टेशनमा ल्याएर छाडियो । हामीसँग टिकट, पैसा केही पनि छैन ।’
उनका अनुसार कलेजमा भएका सबै नेपाली विद्यार्थीलाई रेल स्टेशनमा ल्याएर छाडेपछि विचल्ली भएको छ ।सोमबार विश्वविद्यालयले एक सूचना जारी गर्दै नेपालका सम्पूर्ण अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनिश्चित कालका लागि रोक लगाएको छ भने मङ्गलबार विश्वविद्यालयको क्याम्पस खाली गर्न नेपाली विद्यार्थीलाई विश्वविद्यालयले निर्देशन दिएको छ ।
मृतक लम्सालको शवलाई पोष्टमार्टमका लागि भारतकै क्यापिटल अस्पताल पठाइएको छ । यो विषय नेपालको संसद्मा समेत पुगेको छ । यद्यपि, प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले यस विषय उठाउन खोज्दा सभामुखले समय दिएनन् । तर, उच्च स्रोतकाअनुसार नेपाली विद्यार्थीहरुलाई कलेज फर्काउने प्रयास भइरहेको छ ।