काठमाडौं। अमेरिकी सरकारले नेपालमा वित्तिय संघीयता र जैविक विविधता संरक्षण सम्वन्धि परियोजनाका लागि निर्धारित ४ करोड अमेरिकी डलर बराबरको अनुदान रकम रद्द गरेको छ।
अमेरिकी सरकारी दक्षता विभाग डजले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा वित्तिय संघीयता र जैविक विविधता संरक्षण शीर्षकको परियोजनामा गरी तीन करोड ९० लाख अमेरिकी डलरको अनुदान रद्द भएको हो ।
सो विभागले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै विभिन्न देशमा सञ्चालित परियोजनाको अनुदान रद्द गरिएको उल्लेख गरेको छ । जसमा नेपालमा वित्तिय संघीयता शीर्षक अन्तर्गत दुई करोड डलर र जैविक विविधता संरक्षण शीर्षक अन्तर्गत एक करोड ९० लाख डलर अनुदान रद्द भएको उल्लेख छ । कम्बोडिया, बंगलादेश, भारत, सर्बियासहितका मुलुकमा दिइएको अनुदान रद्द भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल शुरु भएसँगै अन्तराष्ट्रिय विकास नियोग युएसएडको कार्यक्रम विश्वव्यापी रुपमा तीन महिनाका लागि स्थगन गरिएको केही सातापछि सरकारी दक्षता विभागले विभिन्न परियोजनाको अनुदान रोकेको विवरण सार्वजनिक भएको हो ।