प्रतिनिधि सभाका सांसदलाई राष्ट्रिय सभाको रुलिङ, खेद प्रस्ताव पनि पारित

प्रतिनिधि सभाका सांसदलाई राष्ट्रिय सभाको रुलिङ, खेद प्रस्ताव पनि पारित

ज्ञानेन्द्र शाहीको अराजक अभिव्यक्तिको राष्ट्रिय सभाले गर्‍यो प्रतिवाद, सर्वसम्मतिले खेद प्रस्ताव पारित
काठमाडौं। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पदीय दायित्वलाई भुलेर दिएको अराजक अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ। आज बसेको बैठकले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै खेद प्रस्ताव पारित गरेको हो।


आजको बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्र, जयन्तीदेवी राई, सांसद जगतबहादुर पार्कीलगायतले सांसद शाहीको अभिव्यक्तिमाथि आपत्ति जनाएका थिए । सांसदले आपत्ति जनाएपछि खेद प्रस्ताव पारित गर्दै आगामी दिनमा आफ्नो अभिव्यक्ति दिनुअघि विचार पुर्याउन निर्देशन दिईएको छ ।

पारित खेद प्रस्तावमा भनिएको छ, ‘पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज माननीय सदस्यले कपोकल्पित, झुठ र यथार्थ भन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकोले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ । आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ ।’

यस्तो थियो सांसद शाहीको अभिव्यक्ति

राष्ट्रिय सभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ ? वृद्धाश्रममा जानुपर्ने आदरणीय बाजेहरू राष्ट्रिय सभामा भत्ता खान गएकाले कसैले पनि लाइक सेयर र सरकारले गरेका गलत गतिविधिहरूको कमेन्ट गर्न नपाउने मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पास गरेका छन्।

यो धर्तीका लागि केही दिनका पाहुना भएका बाजेहरूले आउने पुस्ताहरूको उज्वल भविष्य कहाली लाग्दो अन्धकार बनाइदिए । श्रीपेच फुकालेर सडकमा गएका राजा त्रिभुवन र राणा शासनका विरुद्धमा लडेका शहीदहरूको यिनीहरूलाई पाप लाग्छ। बोल्न र लेख्न पाउनुपर्छ भन्दै बलिदान दिएका शहीदहरुको पाप लाग्छ ।

जीवनभरि स्वतन्त्रताका लागि लड्ने विश्वश्वर प्रसाद कोइरालाको पाप लाग्छ। जनताले लेख्न र बोल्न पाउनुपर्छ भन्दै त्रिशुलीमा हत्या गरिएका मदन भण्डारीको यिनीहरूलाई पाप लाग्छ । यो राष्ट्रिय सभा को कुनै औचित्य छैन । वृद्रा आश्रम जान लागेका बाजेहरु थन्काउने र पार्टीका कार्यकर्ताहरुलाई मनाउने थलो बन्यो राष्ट्रिय सभा। त्यसैले राष्ट्रिय सभाको अन्त्य गर्नु नै अबको आवश्यकता हो।