काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारको पालामा भन्दा अहिले अहिले अर्थतन्त्र सुधारको अवस्थामा रहेको दावी गरेका छन् । आज संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले विभिन्न आँकडा प्रस्तुत गर्दै सो दावी गरेका हुन् ।
प्रधानमन्त्रीलाई माओवादी नेता तथा पूर्वअर्थमन्त्री वर्षामान पुनले अहिले अर्थतन्त्रमा सिथिलता आएको भन्दै यसमा सुधार गर्ने योजना के–के छन् भनि सोधेका थिए । उनको प्रश्न थियो, ‘अर्थतन्त्रमा सिथिलता आएको छ, जनताको चुल्हो महंगीको मारमा परेको छ, पूँजीगत खर्च हुन सकेको छैन, युवाको पलायन जारी छ । यस्तोमा समग्र अर्थतन्त्र सुधार गर्ने सरकारको नीति र प्राथमिकता के के छन् ?’ ओलीले ‘रुचीकर प्रश्न’ भन्दै जवाफ दिन थाले । उनले पुनलाई आफू अर्थमन्त्री हुँदा र अहिलेको अर्थतन्त्रको अवस्था तुलना गर्न आग्रह गरे ।
प्रधानमन्त्रीको जवाफ यस्तो थियो, ‘देशको अर्थतन्त्रबारे चिन्ता गर्नुभएकोमा यसअघिको अर्थमन्त्रीसमेत रहनुभएका प्रश्नकर्ता माननीयज्यूलाई धन्यवाद नदिइरहन कसरी बस्ने । ७ महिना अगाडि तपाईं आफैं अर्थमन्त्री हुनुहन्थ्यो । त्यसभन्दा अगाडि र त्सयताको मूल्यवृद्धिको अनुपात हेर्न आग्रह गर्छु । प्रश्नका लागि धन्यवाद छ, तर उसबेलाको पनि सम्झनुपर्छ । हामीले आँकडामा प्रश्नोत्तर गर्ने र तुलना गर्ने बानी बसाउँ । हो, सरकारको पूँजिगत खर्च कम छ ।
तर माननीयज्यू अर्थमन्त्री हुँदाको तुलनामा बढी नै छ । हाम्रो अर्थतन्त्रमा सुस्तता एकै दिनमा आएको होइन । सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीररुपमा काम गरिरहेका छौं । असारमा धान नरोपेपछि नै मंसिरमा नफल्ने हो ।
नरोपेपछि फल्ने कुरै भएन । अघिल्लो सरकारका नीति र प्राथमिकतालाई अलग्गै राखेर अहिले अर्थतन्त्र सुध्रेन भन्नु राम्रो होइन । अहिले हामी कानूनमा भएका अप्ठेरालाई हटाएर अर्थतन्त्रलाई सुधार्न र लगानीको वातावरण बनाउन खोजिरहेका छौं ।’