देउवाले किन खोजे माधव नेपालको साथ?

देउवाले किन खोजे माधव नेपालको साथ?

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज विहानैबाट सक्रिय भएका छन्। सरकारले ल्याएका अध्यादेश राष्ट्रियसभाबाट पारित नहुने अवस्था सिर्जना भएपछि राष्ट्रिय राजनीति नै तातिएको बेलामा एकाएक माधव नेपालको सक्रियता बढेको हो।

सरकारले ल्याएका अध्यादेशहरुमध्ये भूमिसम्बन्धी अध्यादेश राष्ट्रियसभाबाट पारित गर्नको लागि सकस भैरहेको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिएका छन्।

अध्यादेश पारित गर्नको लागि अहिलेको अवस्थामा सत्ता गठबन्धनलाई लोसपा र जसपाको साथ अनिवार्यजस्तै बनेको थियो। तर, दुवै दल विपक्षमा उभिएपछि सरकारलाई सकस परेको छ । अध्यादेश नै अलपत्र पर्ने भएपछि सरकार सञ्चालनको जिम्मा लिएका कांग्रेस र एमाले नेतृत्वमाथि नै नैतिक संकट पैदा भएको छ। यस्तोमा प्रधानमन्त्री केपी शर्मा ओलीर कांग्रेस सभापति शेरबहादुर देउवाले पनि अतिरिक्त सक्रियता देखाएका छन्।

देउवाले नै राष्ट्रियसभामा ८ जना सांसद रहेको एकीकृत समाजवादीलाई अध्यादेशको पक्षमा उभ्याउन गृहकार्य थालेका छन्। देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फकाएको चर्चा छ। माधव नेपालले सम्मानित नेता झलनाथ खनालसँगपनि सम्वाद गरेका छन्। उनले आजै कांग्रेस सभापति देउवासँगपनि भेटवार्ता गर्ने बुझिएको छ।

प्रधानमन्त्री ओलीले पनि माधव नेपालको साथ खोजेका छन्। ओलीले पनि आफूले सिधै सहयोग नमागेर देउवामार्फत माधव नेपालको साथ खोजेका छन् । यस्तोमा माधव नेपाल सरकारले ल्याएका अध्यादेशको पक्षमा उभिए देउवाकै विश्वासको कारण उभिनसक्ने बताईन्छ । अहिले सरकारलाई अप्ठ्यारो पर्दा सघाए ओलीले पनि एमाले र एकीकृत समाजवादीबीचको एकताको लागि हृदय ठूलो बनाउनसक्ने बताइन्छ।

रिपोर्टस् नेपाल डकटमबाट