गगनको दाबीः २०८४ को निर्वाचनअघि नै महाधिवेशन हुन्छ, सभापति देउवा पनि तयार

गगनको दाबीः २०८४ को निर्वाचनअघि नै महाधिवेशन हुन्छ, सभापति देउवा पनि तयार

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले २०८४ को निर्वाचनअघि नै पार्टीको १५औं महाधिवशन हुने बताएका छन् । आज (शनिबार) कांग्रेस अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवा पनि अधिवेशनको पक्षमा नै रहेको बताए । कांग्रेसलाई संविधान, ऐन, कानुन र विधानले बाँधेको बताउँदै २०८४ को निर्वाचनअघि अधिवेशन नगराएर धर नरहेको बताएका ह्ुन् ।

‘नेपालको संविधान, कानुन सबै कुराले यो २०८४ को निर्वाचन पछाडि महाधिवेशन गर्ने भन्ने कुरा, त्यो हामीलाई गर्न दिँदैन । कतिजनाले साना एउटा पार्टी ल्याएर कांग्रेसमा मिसाइदियो भने समय थप्न मिल्छ कि भन्यो भनेत, त्यसो हो भने कुनै पनि पार्टीले कहिले पनि महाधिवेशन नगरे हुन्छ । यस्तो हावादारी कुरा हाम्रो संविधान, कानुनले परिकल्पना गरेको छैन । यस्तो चाहीँ भएको पार्टी विघटन गरेमात्रै हुन्छ । अधिवेशन २०८२ मा र ०८३ मा हुन्छ । अधिवेशनको पक्ष र विपक्षमा बहस नगरौं । पार्टी सभापति पनि अधिवेशनको पक्षमा हुनुहुन्छ । यो अधिवेशनको पक्ष, यो विपक्ष भनेर किन भन्नुपर्दैन भने हाम्रो संविधान, विधान, देशको कानुनले हामीलाई बाँधेको छ । यो भन्दा बाहिर हामीहरु कोही पनि जान सक्दैनौं,’– उनले भने ।

महामन्त्री थापाले वर्तमान सत्ता गठबन्धनको सरकारलाई तीन वर्षसम्म चल्न दिनुपर्ने बताए । उनले यस अवधिको सम्पूर्ण जिम्मेवारी कांग्रेस–एमालेले लिनुपर्ने पनि बताए । पटक–पटक गठबन्धनको सरकार बन्ने र सरकारले गरेका कामको जिम्मा नलिने परम्परालाई तोड्न आवश्यक रहेको महामन्त्री थापाले बताए ।