काठमाडौं। काठमाडौंस्थित प्रहरी प्रभाग साँखुको ब्यारेकमा एक महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिइन्। तीन जना बस्ने गरेको ब्यारेकको कोठामा महिला प्रहरी जवान निशा चौधरी सिलिङ फ्यानमा आफ्नै सलको पासो लगाएर झुन्डिएको अवस्थामा बुधबार मध्यान्ह करिब १२ बजेतिर मृत फेला परेकी हुन्।
अनलाइन खबरका अनुसार चौधरीसँगै तीन जना बुधबार बिहान शाली नदी मेलाको ड्युटीका लागि भनेर खटिएका थिए। उनीसँग एउटै कोठामा बस्ने तीन जना ड्युटीमा खटिएकोमा दुई जनाले भने शाली नदी मेलामै खाना खाएका थिए । चौधरी भने ब्यारेकमै खाना खाने भन्दै फर्किएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए।
खाना खान भनेर आएकी चौधरी आफू सुत्ने कोठामा पसेकी थिइन्। तर, लामो समयसम्म पनि कोठाबाट बाहिर ननिस्केको र बोलाउँदा पनि नबोलेपछि झ्याल फोडेर हेर्दा उनी सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा मृत फेला परेको पाइएको छ।
बर्दिया घर भएकी २३ वर्षीया चौधरी प्रहरी सेवामा प्रवेश गरेको तीन वर्ष मात्रै भयो। प्रहरी वृत्त गौशालामा कार्यरत उनी शाली नदी मेलाको ड्युटीका लागि थप मद्दत भन्दै खटिएकी थिइन् । विवाहित चौधरीका श्रीमान भने वैदेशिक रोजगारीमा विदेश रहेको पाइएको छ । परिवारका आफन्त आएपछि शव उठाएर पोस्ट मार्टमका लागि पठाउने तयारी प्रहरीको छ।