झोलुङ्गे पुल निर्माणका क्रममा भेरी नदीमा खसे दुई जना

झोलुङ्गे पुल निर्माणका क्रममा भेरी नदीमा खसे दुई जना

सुर्खेत । झोलुङ्गे पुल निर्माणका क्रममा खसेर भेरी नदीमा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले जानकारी दिए ।

उनका अनुसार सुर्खेतको बराहताल गाउँपालिका–४, कुटा र पञ्चपुरी नगरपालिका–१४, जोड्ने भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको काम चलिरहेको छ ‌।

बुधबार दिउँसो १ बजेतिर पुलका लट्ठा तान्ने क्रममा उनीहरू नदीमा खसेको डाँगीले बताए ।

‘नदीमा खसेपछि उनीहरू बेपत्ता भएको खबर आएपछि बाबियाचौरबाट प्रहरी त्यहाँ पुगेको छ,’ प्रहरी निरीक्षक डाँगीले भने, ‘अहिले खोजीकार्य भइरहेको छ ।’