काठमाडौं। अनुमति बिना शाखा खोल्ने कन्सल्टेन्सीलाई शिक्षा मन्त्रालयको चेतावनी दिएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरुलाई उक्त चेतावनी दिएको हो।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ को दफा ५ (१) बमोजिम २०७५ साउन १४ भन्दा अगाडि नै स्वीकृति तथा दफा ५(२) बमोजिक नवीकरण भएका संस्थाको आर्थिक वर्ष ०८१-८२ सम्मका लागि शिक्षा मन्त्रालयले नवीकरण गरिरहेको जनाएको छ।
‘स्वदेश तथा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीका लागि अनुकुलको शिक्षण संस्था छनोट तथा प्रवेशको लागि तयारी गर्ने प्रयोजनार्थ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सेवा सञ्चालन अनुमति पाएका संस्थाहरुले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ बमोजिम सेवा सञ्चालन गर्नुपर्नेमा मन्त्रालयबाट सञ्चालन अनुमति दिएको स्थान भन्दा बाहिर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालनसमेत गरेको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको हुँदा अनुमति पाएको विषय, क्षेत्र र स्थान बाहेक अन्य क्षेत्र वा विषय वा स्थानमा शाखा खोली सेवा प्रदान नगर्न शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ को दफा १४ बमोजिक निर्देशित गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।