काठमाडौं । घरजग्गा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने समूहका मुख्य नाइके अजय लामा पुर्पक्षका लागि थुनामा गएका छन् । नुवाकोटको ककनी–४ का ३३ वर्षीय लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार भारतबाट पक्राउ गरेको थियो ।
उनीसँगै कार्यालयको टोलीले अर्का अभियुक्त गोरखाको आरुघाट–७ का दीपक बरामुलाई समेत पक्राउ गरेको थियो । बरामुलाई भने एक लाख धरौटीमा छाड्ने आदेश गरेको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको एकल इजलासले सोमबार उक्त आदेश दिएको हो ।
अदालतको आदेशसँगै उनी पुर्पक्षका लागि सुन्धारा कारागार चलान भएका छन् । यसअघि विक्रममाथि आक्रमण गर्ने गोरखाको गण्डकी गाउँपालिका–४ का २८ वर्षीय निश्चल सुनार र नुवाकोटको बेलकोटगढी नगरपालिकाका मार्सल भन्ने शैलेन्द्र तामाङलाई समेत काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
भारतबाट पक्राउ परेका अर्का आरोपी गोरखाको आरूघाट गाउँपालिका–८ का सिजन अधिकारीलाई भने ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।
विक्रममाथि कात्तिक ११ गते उनको कार्यालय नजिकै लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा अन्धाधुन्ध रड प्रहार गरिएको थियो । रड प्रहार गर्ने समूहका तीनजना पुर्पक्षका लागि थुनामा पुगे पनि दीपकलाई भने धरौटीमा माग गरिएको छ । विक्रममाथि आक्रमण गर्दा अजयको नेतृत्वमा दीपक, शैलेन्द्र र निश्चल सहभागी भएका थिए ।
आक्रमण गर्दा सहभागी चारजनाको सीसीटीभी फुटेज समेत सार्वजनिक भएको थियो । अनुसन्धानका क्रममा विक्रममाथि आक्रमण भने धरान उपमहानगरपालिका–१३ घर भई हाल बेलायत बस्ने ५० वर्षीया लक्ष्मी राई र धादिङको ज्वालामुखी गाउँपालिका–४ का रमेश सिलवालले सुपारी दिएर गराएको खुलेको थियो ।
हाल फरार लक्ष्मी र रमेश दुवै बेलायत पुगेका छन् । लक्ष्मीले बेलायतमै न्यु लक्ष्मी ज्वेलर्स समेत सञ्चालन गरेको खुलेको छ । अभियुक्तमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।