काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने भएको छ । आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका निम्ति म्याद थप गर्न उनलाई अदालतमा पेस गर्न लागिएको भक्तपुर प्रहरीले जनाएको छ ।
आशिका हाल प्रहरी वृत्त जगातीको हिरासतमा छिन् । सोमबार (हिजो) उनलाई काठमाडौंबाट भक्तपुर लगिएको हो । प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी उनलाई सोमबारै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
उनीविरुद्ध भक्तपुर प्रहरीमा पनि उजुरी रहेकाले काठमाडौंबाट छुटेलगत्तै जगाती लगिएको हो । सूर्यविनायक नगरपालिकाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
“उहाँ (आशिका तामाङ) विरुद्ध यहाँ पहिल्यै उजुरी थियो । सूर्यविनायक नगरपालिकाको उजुरीका आधारमा अनुसन्धान गर्न लागेका हौँ,” डीएसपी न्यौपानेले भने ।
भक्तपुरको साँगास्थित झोलुंगे पुलमा आशिकाले टिकट जलाएको, दररेटको पोस्टर च्यातेको, त्यहाँका कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी दिइएको थियो ।