काठमाडौं । अछामका दुई किशोरीको मृत्यु प्रकरणमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले अछामको ढकारी गाउँपालिकाबाट आइतबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
परिवारका सदस्यले दिएको जानकारीका आधारमा शंकास्पद दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए।
जिल्लाको ढकारी गाउँपालिका-८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिवार साँझ फेला परेको थियो। शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनदेखि सम्पर्कविहीन थिए ।
उनीहरूको शव क्षतविक्षत अवस्थामा अलग-अलग ठाउँमा फेला परेका थिए। दुवै किशोरीको टाउकोमा गहिरो चोट लागेको छ भने अन्य भागमा पनि चोटहरू लागेका छन् । मृतक सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन्।
मृतकका परिवार र आफन्तले घटना शंकास्पद रहेकाले अनुसन्धान हुनुपर्ने माग गरेका छन्। प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।