विराटनगर। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समृद्धि र सामाजिक न्याय हासिलका लागि प्रतिबद्ध रहेको बताएका छन्।
उद्योग संगठन मोरङद्वारा यहाँ आयोजित ‘विराट एक्स्पो-२०२५’ को आज उद्घाटन गर्दै उनले सरकार आर्थिक, सामाजिक, शैक्षिक तथा औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न गम्भीर रहेको उल्लेख गरे।
मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेलामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा सरकार गठन भएको र यो सरकार सबै समस्या समाधान गर्न तीव्र गतिमा काम गरिरहेको उनको भनाइ थियो।
उपप्रधान पौडेलले वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रमा सुधार देखिएको समेत उल्लेख गरे। हाल बैंकमा तरलता पर्याप्त रहेको र ब्याजदर पनि एकल अंकमा आएको उल्लेख गर्दै यसबाट उद्योगीहरुले लाभ लिइरहेको बताए।
“मुलुकमा राजनीतिक स्थायित्व हुँदा अर्थतन्त्रमा देखिएका समस्यमा समाधानमा सहज हुन्छ”, उनले भने, “अहिलेको सरकारका लागि सहज अवस्था छैन, नागरिकका निराशालाई आशामा बदल्ने गरी सरकारले द्रुत गतिमा काम गरिरहेको छ।”
उनले ‘निराशा चिर्ने र आशा सञ्चार गर्ने’ दायित्व सरकारकै भएकाले अध्यादेशमार्फत विभिन्न कानुन संशोधनपछि निजी क्षेत्रपनि उत्साहित भएको बताए। त्यस अवसरमा उनले सरकार प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र निर्माणका लागि काम गरिरहेको समेत जानकारी दिए।
“विराटनगर विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, औद्योगिक ग्राम तथा औद्योगिक प्रदर्शनी केन्द्र निर्माण गर्ने र किमाथाङ्का बाटोको विषयमा सरकारले आवश्यक सहयोग गर्नेछ”, उनले भने।
त्यस अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको आर्थिक विकासका निम्ति विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको धारणा राखे। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले निजी क्षेत्रले इमान्दारीपूर्वक राज्यको काममा सहयोग गरिरहेको उल्लेख गर्दै एक्स्पोले निजी क्षेत्रलाई फाइदा पुग्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन एक्स्पो सहयोगी हुनेमा विश्वास व्यक्त गरे। एक्स्पो यही माघ २० गतेसम्म सञ्चालन हुने छ।