घरजग्गा कारोबारबाट भदौमा ३ अर्ब ९१ करोड राजस्व संकलन

घरजग्गा कारोबारबाट भदौमा ३ अर्ब ९१ करोड राजस्व संकलन

काठमाडौं। २०८३ सालको भदौ महिनामा देशभर भएको घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतका १५८ वटा मालपोत कार्यालय तथा स्थानीय तहले संकलन गरेको तथ्यांकअनुसार यो राजस्व उठेको हो।

उठेकै कुल राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा लिखत रजिष्ट्रेशन दस्तुर (१ अर्ब ९० करोड २१ लाख) र पूँजीगत लाभकर (१ अर्ब ७९ करोड ३५ लाख) को रहेको छ। यसबाहेक सेवा करबाट १६ करोड ८२ लाख र अन्य विभिन्न शुल्कबाट करिब ४ करोड ८३ लाख रुपैयाँ संकलन भएको छ।

कुल राजस्वको ५५ प्रतिशतभन्दा बढी हिस्सा अर्थात् २ अर्ब १६ करोड २७ लाख रुपैयाँ काठमाडौँ उपत्यकाका ९ वटा कार्यालयबाट मात्रै संकलन भएको छ।

उपत्यकाभित्र भक्तपुर कार्यालयले सबैभन्दा बढी ४९ करोड १६ लाख रुपैयाँभन्दा बढी राजस्व उठाएको छ भने ललितपुरको लगनखेलले ३८ करोड ८० लाख तथा काठमाडौँका कलंकी, चावहिल र डिल्लीबजारले क्रमशः ३७ करोड १२ लाख, ३३ करोड ५५ लाख र ३१ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेका छन्।

उपत्यकाबाहिर भने कास्कीको पोखरा कार्यालयले सबैभन्दा बढी १६ करोड ८३ लाख रुपैयाँ उठाएको छ भने सुनसरीको इनरुवाले १५ करोड ४२ लाख र रुपन्देहीको बुटवलले ११ करोड ८८ लाख रुपैयाँ संकलन गरेका छन्।

यसैगरी चितवन, भैरहवा, विराटनगर, वीरगञ्ज र भद्रपुरमा पनि घरजग्गा कारोबारबाट ७ देखि ९ करोड रुपैयाँसम्म राजस्व संकलन भएको छ। यसको विपरीत हिमाली तथा विकट पहाडी जिल्लाहरूमा भने घरजग्गा कारोबार निकै सुस्त देखिएको छ। बाजुरामा जम्मा २२ हजार ६३३ रुपैयाँ, गोरखाको सिर्दिवासमा २९ हजार ४०० रुपैयाँ, बझाङको झोताभैरवमा ४५ हजार ७२८ रुपैयाँ र अछाममा १ लाख २८ हजार रुपैयाँ मात्र राजस्व उठेको छ।

यस तथ्यांकले घरजग्गा कारोबारको राजस्वमा काठमाडौँ उपत्यकाको पकड बलियो रहेको र उपत्यकाबाहिर पोखरा, इनरुवा तथा बुटवलजस्ता प्रमुख सहरहरूमा पनि कारोबारको उपस्थिति उच्च रहेको देखाउँछ।

छुटाउनुभयो कि ?