सहकारी ठगी प्रकरण

सुप्रिम सहकारी ठगी प्रकरण:  रविविरुद्ध मुद्दामा थुनछेक बहस जारी

सुप्रिम सहकारी ठगी प्रकरण:  रविविरुद्ध मुद्दामा थुनछेक बहस जारी

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस सुरू भएको छ। जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा मुद्दामा थुनछेक बहस जारी छ।

आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ। दुवै तर्फबाट बहस सकिए आजै थुनछेकको आदेश आउने संभावना छ। बिहीबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। बिहीबार वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेल,सहायक जिल्ला न्यायाधिवक्ता बसन्तराज पोखरेल, गोकर्णराज घिमिरे, सुनिल लामिछाने, पवित्र भण्डारी, सोमकान्त भण्डारी, उप न्यायाधिवक्ता रवि न्यौपाने, प्रकाश मरासिनीले बहस गरेका थिए।  त्यस्तै जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए। 

बुधबार अदालतमा हाजिर भएका लामिछानेको बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्माजमानी छाडिएको थियो। दुवै तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुर्पक्षाका लागि थुनामा पठाउने ,धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने आदेश आउनेछ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछाने,पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध ठगी,केहीविरुद्ध संगठित ठगी र सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता भएको छ। 

यसअघि सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका छन्।