बुटवल। रास्वपाका सभापति रवि लामिछानेको आजको थुनछेक बहस सकिएको छ। बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो। सहकारी पीडित पक्षका पनि केही वकिलले बहस गरेका छन्।
आज पनि रविलाई हिजो जस्तै परिवारको जिम्मा लगाइएको छ ।सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेको र यसपछि लामिछानेका पक्षमा कानून व्यवसायीले बहस गर्नेछन्।
प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा छन्। बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादी रहेका लामिछाने हिजो (बुधबार) आफैं जिल्ला अदालतमा हाजिर भएका थिए। जिल्ला अदालले बयान गराएर लामिछानेलाई श्रीमती निकिता पौडेलको जिम्मा लगाएको थियो।
लामिछानेलाई हिजो परिवारको जिम्मा लगाएको प्रति सरकारी वकिलहरुले इजलासमा आक्रोश व्यक्त गरेका छन् । लामिछानेलाई हिजो परिवारको जिम्मामा छाड्नुले थुनछेकको औचित्य नै समाप्त भएको भन्दै उनीहरुले न्यायाधीश योगीप्रति कटाक्ष गरे । सरकारी वकिलहरुले न्यायाधीश योगीले थुनछेकको विधिशास्त्र नै मिचेको संकेत गरे ।
बयान दिन आएको मान्छेलाई पुन परिवारको जिम्मा लगाएकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारी वकिलले लामिछाने जोडिएको मुद्दा नहेर्न समेत न्यायाधीश योगीलाई सुझाए ।