काठमाडाैँ । खासगरी हिजो बुधबारदेखि नेपाली सोसल मिडिया प्रयोगकर्तामाझ एउटा भिडियो फैलिरहेको छ, जसमा एक विद्यालयमा शिक्षक र शिक्षिका प्रधानाध्यापकको कक्षमा ‘अश्लील हर्कत’ गरिरहेको देखिन्छन् । धेरैले यसलाई नेपालकै जस्तो गरी आ–आफ्नो प्लेटफर्ममा शेयर गरिरहेका छन् ।
तर, यो भिडियोको साइनो नेपालसँग छैन । यो नेपालको कुनै विद्यालयको होइन । भारतीय मिडियाका अनुसार, अहिले फैलिरहेको भिडियो फुटेज भारत राजस्थानको चित्तौडगढ जिल्लाको हो । भिडियो फुटेजमा सरकारी विद्यालयका शिक्षक र शिक्षिका विद्यालयको प्रिन्सिपल चेम्बरमा ‘अश्लील हर्कत’ गर्दै गरेको देखिन्छन् । उनीहरूको हर्कत सबै सीसीटीभी क्यामेरामा कैद भएको थियो ।
यो घटना जनवरी दोस्रो सातातिरको हो । गत साता भारतीय सोसल मिडिया प्रयोगकर्तामाझ यो भिडियो ‘भाइरल’ बनेको थियो । भिडियोमा देखिएका शिक्षक अरबिन्द व्यास र शिक्षिका कान्ता पाण्डिया रहेको भारतीय मिडिया नवभारत टाइम्सले लेखेको छ ।
दुवै जना राजकीय उच्च प्राथमिक विद्यालय आजोलियाको खेडा, पञ्चायत समिति गंगरारमा कार्यरत थिए । यो गतिविधिलाई ‘माफी दिन नसकिने घृणित र अश्लील हर्कत’ भन्दै उनीहरूलाई राज्यको शिक्षा विभागले सरकारी सेवाबाट बर्खास्त गरिसकेको छ । चित्तौडगढ जिल्ला शिक्षा अधिकारीले उनीहरूलाई बर्खास्त गर्ने निर्देशन जारी गरेका थिए ।
सोसल मिडियामा भिडियो भाइरल भएपछि १८ जनवरीमा दुवैलाई शिक्षा विभागले निलम्बित गरेको थियो । उनीहरूलाई २० जनवरीसम्म स्पष्टीकरण दिन समय पनि दिइएको थियो । तर, अरविन्दले कुनै जवाफ दिएनन् भने शिक्षिकाले भिडियोलाई सम्पादन गरी भाइरल गराइएको दाबी गरेकी थिइन् । तर, छानबिन समितिले दुई जनाको कृत्यलाई घृणित भन्दै बर्खास्त गर्न सिफारिस गरेको थियो ।
बर्खास्त गर्ने आदेशमा उनीहरूको कामले राजस्थानको छवि देशभर धुमिल भएको उल्लेख छ । ‘जुन सीसीटीभी फुटेज सोसल मिडियामा भाइरल भयो, यो देशभर फैलिएको छ । राष्ट्रिय स्तरका समाचार पत्र र टीभी च्यानलको चर्चामा पनि यही घटनालाई लिएर समाचार प्रकाशित, प्रशारित छन् । यसबाट राजस्थानले लज्जित हुनु परेको छ । यस कृत्यमा माफी दिन सकिँदैन’, आदेशमा भनिएको छ ।