भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने थुनछेक बहसका लागि अदालत उपस्थित भएका छन्।
बुधबार रुपन्देही जिल्ला अदालतमा बयान सकिएर थुनछेक बहसका लागि समय नहुँदा बिहीबार बिहान साढे १० बजे उपस्थित हुनेगरी लामिछानेलाई उनको परिवार र कानुन व्यवसायीको जिम्मा लगाएर पठाइएको थियो।
लामिछानेविरुद्ध दर्ता सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनछेक बहस केही समयमा सुरु हुने रुपन्देही जिल्ला अदालतका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले जानकारी दिए।
मुद्दामा जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा थुनछेक बहस हुनेछ। दुवै तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुर्पक्षाका लागि थुनामा पठाउने , धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने आदेश आउनेछ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछाने,पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध ठगी,केहीविरुद्ध संगठित ठगी र सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता भएको छ।
यसअघि सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका छन्।