विश्वकप क्रिकेट

आईसीसी महिला यू–१९ टी–२० विश्वकप : अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल

आईसीसी महिला यू–१९ टी–२० विश्वकप : अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल

काठमाडौँ । नेपाली टोली मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । बुधबार सम्पन्न आफ्नो तेस्रो खेलमा बलियो अस्ट्रेलियासँग ८३ रनले पराजित भएसँगै नेपाली टोली उपाधि होडबाट बाहिरिएको हो ।
 
टस जिती ब्याटिङको निर्णय लिएको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ५६ रनमात्र बनाउन सक्यो । 

जारी विश्वकपमा नेपाली टोली आफूले खेलेको तीनवटै खेलमा पराजित भयो । यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले र दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो ।

समूह ‘डी’ मा तीन खेलबाट ६ अंक जोड्दै अस्ट्रेलिया पहिलो, समान खेलबाट चार अंक बटुल्दै बंगलादेश दोस्रो र समान खेलबाट दुई अंक हात पार्दै स्कटल्यान्ड तेस्रो भए । यी तीनवटै टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्न सफल भए । अंक बटुल्न नसकेको नेपाल भने तालिकाको चौथो स्थानमा रह्यो ।

अस्ट्रेलियालाई हराउन सकेको भए नेपाली टोली स्कटल्यान्डलाई पछि पार्दै प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्ने थियो । चारवटै समूहबाट तीन–तीन टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्ने प्रावधान रहेको छ ।  अस्ट्रेलियाविरुद्धको खेलमा पनि नेपाली ब्याटरहरुले गतिलो प्रदर्शन गर्न सकेनन् । कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी कप्तान पूजाले ४२ बलमा उक्त रन बनाएकी हुन् । 

ओपनर साना प्रविण आठ र सावित्री धामी सात रन बनाउँदै आउट भए । ज्योत्सनिका मरासिनीले खाता खोल्न सकिनन् भने सिमाना केसी पनि ६ रनभन्दा अगाडि बढ्न सकिनन् । एलिसा यादवले ११ बलमा एक चौकाको मद्दतले नौ रन जोडिन् । 

तृष्णा विश्वकर्मा पनि एक रन बनाउँदै पेभेलियन फर्किइन् । कृष्मा गुरुङले खाता खोल्न सकिनन् । रचना चौधरीले शून्य र रिया शर्मा एक रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा ६ रन पायो । अस्ट्रेलियन टोलीका बलर हसरत गिल, जुलियट मोर्टन र लिलीले दुई–दुई विकेट लिए ।