काठमाडौँमा वायु प्रदूषण ‘खतरा’को तहमा

काठमाडौँमा वायु प्रदूषण ‘खतरा’को तहमा

काठमाडौँ । काठमाडौंको वायुको गुणस्तर बुधबार अपराह्न खतराको तहमा पुगेको छ । वातावरण विभागका अनुसार मंगलबार दिउँसो १२ : ३० बजे शंखपार्कको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) ३९९ पुगेको छ । 

विभागले वायुको यो अवस्थालाई ‘खतरा’ भनेको छ । शंखपार्कमा सो समय पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर २७६.७ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ ।

सोही समयमा काठमाडौंको रत्नपार्क र ललितपुरको खुमलटारमा पनि वायु प्रदूषणको तह अस्वस्थकर छ । ती स्थानको एक्यूआई क्रमशः १६३ र १५७ छ ।  यीबाहेक अन्य स्थानको एक्यूआई १५० भन्दा कम छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड अनुसार यी स्थान ‘अस्वस्थकर’को सूचीमा परेका छन् । वायुको गुणस्तरमा मापदण्डअनुसार एक्यूआई १५० भन्दामाथि रहेको वायु अस्वस्थकर मानिन्छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो त्यति नै घातक मानिन्छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।