मेरियट होटलमा हुने भनिएको इडियू अमेरिकन भारतीय परामर्शदाताको कार्यक्रम रद्द गर्न सिफारिस

मेरियट होटलमा हुने भनिएको इडियू अमेरिकन भारतीय परामर्शदाताको कार्यक्रम रद्द गर्न सिफारिस

काठमाडौं।  शिक्षा मन्त्रालयको अनुमति नलिई इडियू अमेरिका भन्ने भारतीय परामर्शदाता कम्पनीले काठमाडौंको  होटल मेरियटमा आयोजना गर्न लागेको कार्यक्रम नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले  रद्द गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ।

जनवरी २२ मा आयोजना गर्न लागेको University of Texas @ Arligton, USA Admission Decision Day भनेर समाजिक सञ्चाललगायतका माध्यमबाट व्यक्तिगत सम्पर्कको आधारमा समेत सिधा भर्नालगायतको प्रलोभन देखाएर क्रियाकलाप संचालन गरेको पाइएको भन्दै इक्यानले कार्यक्रम रद्द गर्न पत्राचार गरेको हो।

साथै इक्यानले  यस्ता कृयाकलापहरु नेपालमा प्रचलित ऐन, कानून तथा नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा जारी गरिएको शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्वन्धि निर्देशीका २०७३ का विरुद्ध रहेको भन्दै ध्यानाकर्षण भएकोसमेत जनाएको हो।

‘नेपाल सरकार शिक्षा मन्त्रालयको स्विकृति एवम् प्रचलित ऐन, कानून र निर्देशिकाको व्यवस्था भन्दा बाहिर गएर नेपाली विद्यार्थीहरुलाई भर्ना लगायतका सुविधाको प्रलोभन देखाउन भ्रामक विज्ञापन प्रकाशित र प्रसारीत गरि गैह्र कानूनी कृयाकलापमा संलग्न भएका ब्यक्ति, समूह तथा सम्बन्धित कलेजका प्रतिनिधिहरुलाई प्रचलित ऐन, कानून एवम शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ प्रावधान बमोजिम आवश्यक कानूनी कार्वाही गरियोस् भनि श्रीमान समक्ष हार्दिक अनुरोध गर्दछौं,’ इक्यानमा महासचिव दीपकराज भुसालले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ।

साथै सो संस्थालाई कारवाही गर्न सम्बन्धित निकायलाई इक्यानले आग्रह पनि गरेको छ।