काठमाडौं । प्रथम खो खो विश्वकप को महिलातर्फ नेपाल उपविजेता बनेको छ ।

खो खो विश्वकप : महिलातर्फ नेपाल उपविजेता, भारतले जित्यो उपाधि

खो खो विश्वकप : महिलातर्फ नेपाल उपविजेता, भारतले जित्यो उपाधि

आइतबार भएको फाइनलमा घरेलु टोली भारतसँग पराजित भएपछि नेपाल उपविजेता बनेको हो ।


नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा नेपाल भारतसँग ७८-४० ले पराजित भएको हो ।

घरेलु कोर्टमा भारतीय महिला टोली अपराजित रहँदै च्याम्पियन बनेको हो । भारतले अट्याकिङमा उत्कृष्ट प्रदर्शन गर्दै अंक जोडेको थियो ।

 

महिलातर्फ नेपाल र भारत दुव‌ अपराजित रहँदै फाइनल पुगेका थिए । दुई अपराजित टिमबीचको फाइनल भिडन्तमा भारतले बाजी मारेको हो ।

महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३-२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो ।

त्यसैगरी क्‍वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा नेपालले युगाण्डालाई ८९-१८ ले पराजित गरेको हो ।

सरस्वती कडायतको कप्तानीमा रहेको नेपाली महिला खो खो टोलीले विश्वकपको पहिलो संस्करणमै सानदार प्रदर्शन गर्दै नेपाली खो खो को चर्चा बढाएका थिए ।

उता समूह ए मा रहेको भारतले पहिलो खेलमै दक्षिण कोरियालाई १७५-१८ ले पराजित गरेको थियो । त्यसपछि इरानलाई १००-१६ र मलेसियालाई १००-२० ले पराजित गर्दै भारत समूह विजेता बनेको थियो ।

भारतले क्वाटरफाइनलमा बंगलादेशलाई १०९-१६ ले पराजित गर्दा  सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ६६-१६ ले हराएर फाइनल पुगेको थियो ।

खो खो खेलकै पहिलो विश्वकप आयोजना हुँदा विश्वका २३ राष्ट्रले भाग लिएका थिए । जसमा पुरुषतर्फ २० र महिलातर्फ १९ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

सन् २०१९ मा काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुदको फाइनलमा पनि नेपाल र भारत नै भिडेका थिए । भारतले नेपाललाई १५-५ को अन्तरले पराजित गर्दै स्वर्ण जित्दा नेपाल रजतमै समेटिएको थियो ।

नेपालको पुरुष टोलीले पनि खो खो विश्वकपको फाइनलमा आजै भारतसँग नै खेल्दैछ । पुरुषतर्फ नेपाल पहिलो खेलमा भारतसँग नै ४२-३७ को अन्तरले पराजित भएको थियो । भारत अपराजित रहँदै फाइनल पुगेको हो । नेपाल सामु पहिलो खेलमा व्यहोरेको हारको बदला लिने अवसर पनि छ ।

नेपाल महिला खो खो टिम : सरस्वती कडायत (कप्तान), मानमती धामी, पुजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी, अनिसा गोले