ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी

ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी

काठमाडौँ : नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ ।

फागुन २ र ३ गते भक्तपुरमा बसेको सातौं केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै मंगलबार संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेड युनियन खारेज गर्ने, संकुचित गर्ने र अधिकार खुम्च्याउने चलखेल भइरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनले संघीय निजामती कर्मचारी सेवा ऐन निर्माणको क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेको बताए ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा केही सांसदहरुले ट्रेड युनियन खारेज गर्नुपर्ने तथा अधिकार खुम्च्याउने बहस चलाएको भन्दै आपत्ति जनाएका हुन् । उनले ट्रेड युनियन खारेज गर्नेगरी ऐन ल्याइए आन्दोलन गर्ने र त्यसका लागि वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको संयोजकत्वमा ‘आन्दोलन तयारी तथा परिचालन समिति’ गठन गरिसकेको समेत बताए ।

संघीय निजामती सेवा ऐन ल्याउन ढिलो हुँदा कर्मचारीका समस्या समाधान हुन नसकेको उनले बताए । उनले कर्मचारी संगठनले कर्मचारीको हितमा मात्र काम नगर्ने र राष्ट्रिय हितका लागि समेत आवाज उठाउने गरेको बताए । त्यस्तै ट्रेड युनियनमा लाग्ने कर्मचारीहरुमाथि कार्यालयको काम नगरी ट्रेड युनियनको मात्र काम गर्ने आरोप लाइएको भन्दै खण्ड समेत गरे ।

नेपाल निजामती कर्मचारी संगठनले व्यक्तिगत स्वार्थको आधारमा नभई सामूहिक स्वार्थका लागि मात्र आवाज उठाउने निर्णय बैठकले गरेको समेत उनले बताए । उनले भ्रष्टाचार गर्ने तथा गलत गर्ने कर्मचारीलाई कारबाही गर्न संगठनले सधैं सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । बैठकले भ्रष्टाचार निवारणका लागि सबै जिल्ला र प्रदेशमा भ्रष्टाचार विरोधी अभियानहरु सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।