प्रतिलिपि अधिकार सम्बन्धी छलफल सम्पन्न

प्रतिलिपि अधिकार सम्बन्धी छलफल सम्पन्न

काठमाडौं। कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार कसरी आकर्षित हुन्छ भन्ने सन्दर्भमा सम्बद्ध पक्षबीच राजधानीमा शुक्रबार अन्तरक्रिया गरिएको छ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा शुक्रवार राजधानीमा आयोजित ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कलाकार र फोटोपत्रकारले प्रतिलिपि अधिकारलाई कसरी सुरक्षति गर्न सकिन्छ भन्ने सन्दर्भमा धारणा राखेका थिए।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका बहुआयामिक तथा सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिलिपि अधिकारको विषयमा नेपाल प्रतिलिपि अधिकार राजिस्ट्रारको कार्यालयमार्फत् प्रतिलिपि अधिकारका विषयलाई एकमुस्ट समेटेर सुझाव पेस गरिने बताए।

नेपाल पत्रकार महासंघ, एसोसिएट प्रदेश अध्यक्ष रोयल आचार्यले प्रतिलिपि अधिकार सम्बन्धी कानुन निर्माणमा पत्रकार महासंघको तर्फवाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकासदस्य सचिव देवेन्द्र कुमार काफ्लेले फोटोग्राफी सम्बन्धी सस्थाहरुसँग छलफल गरी प्रतिलिपि कानुन निर्माण प्रक्रियालाई सहयोग गरिने बताए।

नेपाल प्रतिलिपि अधिकार राजिस्ट्रारको कार्यालयका प्रतिनिधि सालिकराम खतिवडाले हालसम्म गीत संगीतका विषय मात्र प्रतिलिपि अधिकारका विषयमा कुरा उठ्ने भए पनि फोटोग्राफी र कलाका विषयमा समेत प्रतिलिपि अधिकारको बारेमा छलफल हुनु खुशीको विषय भएको बताए।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले स्वागत मन्तव्य राख्दै डिजिटल मिडियाको प्रवेशसँगै व्यवसायिक फोटोग्राफीमा संलग्न फोटापत्रकारका सिर्जना विनाअनुमति मिडियाले छाप्ने र कलाकारले पेन्टिङ बनाउने गरिएको चर्चा गरे।

उनले ‘आर्ट र फोटोग्राफीको प्रतिलिपि सम्बन्धी समस्याहरु बजारमा धेरै नै रहेकाले यस्ता समस्याको समाधानका लागि आवाज उठाउनुपर्छ भन्ने उद्देश्यले सो छलफल कार्यक्रम राखिएको बताए।