पुनको पुनरागमनले माओवादीमा मतभेद

पुनको पुनरागमनले माओवादीमा मतभेद

काठमाडौं। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा फकिएपछि नेकपा (माओवादी केन्द्र)मा मतभेद देखिएको छ। दुई कार्यकाल मुलुकको उपराष्ट्रप्रमुख भइसक्नुभएका पुन पुनः राजनीतिमा फर्किएपछि माओवादीभित्र विरोध सुरु भएको हो।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमै माओवादी नेताहरूले पुनको राजनीतिमा फर्कने निर्णयको विरोध गरेका छन् । पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने कुराले राम्रो सन्देश नदिएको केन्द्रीय सदस्यहरूले बताएका हुन्।

बैठकको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै माओवादी नेता सुदन किरातीले पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने कुराले राम्रो सन्देश नदिएको बताए। सम्माननीयलाई पार्टीले अझ सम्माननीय बनाउनु सक्नुपर्ने उनको भनाइ थियो। ‘पार्टीले सम्माननीयलाई अझ सम्माननीय बनाउनु सक्नुपर्छ। आलोचनाभन्दा माथि राखौं बरू पाठशाला बनाऊँ’, केन्द्रीय समिति बैठकमा उनले भने, ‘हामीबाटै नयाँ परम्परा र संस्कृतिको आधार स्तम्भ खडा गरौं । उदाहरणीय बनाऔं । १२ हातको सरस्वतीलाई तीन हातको मन्दिरमा नराखौं।’

यस्तै, माओवादी केन्द्रीय सदस्य इन्द्र आङ्बोले पनि पूर्वसम्माननीयहरू राजनीतिमा आउने कुरा राम्रो नरहेको टिप्पणी गरे। ‘केन्द्रको पदाधिकारी, सिनियर नेताहरू वैचारिक र खोज अनुसन्धानमा लागौं । पार्टीमा संगठनको जिम्मा नयाँ पुस्तालाई दिऔं,’ उनले भने, ‘पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई राजनीतिमा होइन, अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरले जस्तो सामाजिक क्षेत्रमा काम गरौं।’

केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पनि प्रमुख पदमा पुगेकालाई राजनीतिमा ल्याउने विषय पश्चगामी कदम हुने बताए । जो कोहीले पनि निश्चित जिम्मेवारी, निश्चित उमेर र निश्चित अवधि पूरा गरेपछि सक्रिय पार्टीको संगठनात्मक जीवनबाट बिदा लिनुपर्ने उनको भनाइ थियो ।

‘पार्टीको सदस्यता त्याग गरेर राज्यको माथिल्लो जिम्मामा पुगेका जस्तै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख आदिहरू पुनः सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुन्छ,’ न्यौपानेले सामाजिक सञ्जालमै लेखेका छन्, ‘बरू सुरुमै सक्रिय संगठनात्मक जीवनमा नफर्कने व्यक्तिहरूलाई त्यस्ता जिम्मामा पठाउनुपर्छ । नत्र त संगठनात्मक जीवनमा प्रवेशको ढोका खुला हुने तर, निस्कने ढोका सबै बन्द गर्दा नयाँहरूको प्रवेश हुँदैन र पार्टीको संगठनात्मक जीवन संग्रहालयमा बदलिन्छ।’

अध्यक्ष ‘प्रचण्ड’ले आइतबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षपछिको वरीयतामा पुनलाई पार्टीसमक्ष प्रस्तुत गरेका थिए। माओवादी युद्धमा कमाण्डर रहेका पुन प्रचण्डका विश्वासिलामध्येका एक हुन्। प्रचण्डकै जोडबलमा पुनलाई २०७२ सालपछि दुई कार्यकाल उपराष्ट्रपति बनाइएको थियो।