दम्पतीको नाक काटेको आरोपमा नेकपा बहुमतका दाङ सेक्रेटरी पक्राउ

दम्पतीको नाक काटेको आरोपमा नेकपा बहुमतका दाङ सेक्रेटरी पक्राउ

नेकपा बहुमतका दाङ जिल्ला सेक्रेटरी अमर खड्का पतिपत्नीको नाक काटेको आरोपमा पक्राउ परेका छन्। 

घोराही उमहानगरपालिका–१५ बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतको नाक काटेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

गएको मंसिर ६ गते घोराही–१५, ओमशान्ति टोलस्थित सडकमा हिँडिरहेको बेला उनले धारिलो हतियार प्रहार गरेर बस्नेत दम्पतीको नाक काटेका प्रहरीले जनाएको छ। त्यसयता फरार रहेका उनलाई घोराही–१९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए। 

‘खड्काविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय दाङबाट पक्राउ अनुमति लिएर पक्राउ गरेका छौँ,’ थापाले भने, ‘घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।’