पिंगलास्थानको होटलमा मृत भेटिएकी युवतीकाे प्रेमी देवबहादुरले हत्या गरेको आशंका

पिंगलास्थानको होटलमा मृत भेटिएकी युवतीकाे प्रेमी देवबहादुरले हत्या गरेको आशंका

काठमाडौं। काठमाडौंको पिंगलास्थानस्थित होटल वाग्मतीको ३०८ नम्बर कोठामा मृत भेटिएकी बौद्धकी २१ वर्षीया सुस्मिता खड्कासँग कागेश्वरी मनोहरा बस्दै आएका ओखलढुंगाकाका २३ वर्षीय देवबहादुर थापा बसेको खुलेको छ।

सुस्मिताको मृत्युपछि भने उनी भागेर ओखलढुंगा पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ। प्रहरीले थापाको खोजीका लागि एउटा टोली नै ओखलढुंगा पठाएको छ। ‘सुस्मिताको मृत्यु भएपछि थापाले बाहिरबाट चाबी लगाएर भागेको देखिएको छ। तर, युवतीको बाहिरी चोट नदेखिकाले मृत्यु कसरी भएको खुलेको छैन।’ प्रहरी स्राेतले भन्याे।

स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा बुधबार दिउँसो होटलकाे ताला फुटाएर हेर्दा सुस्मिता कोठामा मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए।

ती युवक होटलकै ताला बाहिरबाट लगाएर ‘केही बेरमा आउँछु’ भन्दै निस्किएको लामो समयसम्म नआएपछि होटल साहुले प्रहरीलाई खबर गरेको थियो। सुस्मिता जापान जाने तयारी स्वरूप उनले भाषा कक्षा पढिरहेकी थिइन्।

सुस्मिताको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। शरीरमा कतै पनि घाउ चोट नलागेको अवस्थामा सुस्मिताको शव बुधबार भेटिएको थियो। थापाले नशालु पदार्थ सेवन गराई वा कुनै थप अर्को विधिले हत्या गरेका हुन् भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने प्रहरीले बतायो। पोस्टमार्टम रिपोर्टपछि थप खुल्ने प्रहरीको अपेक्षा छ।

थापा र सुस्मिता पुस १६ गते (मंगलबार) कोठामा बस्न पुगेको खुलेको छ। जापान जाने तयारीका लागि भाषा कक्षामा सहभागी सुस्मिता र देवबहादुर प्रेमी, प्रेमिका भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनायो।

देवबहादुर केही समय जापान बसेर फर्किएका थिए। ओखलढुंगा, सिस्नेरी स्थायी ठेगाना भएका उनी काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिकामा बस्दै आएका थिए। मृतक सुस्मिताको घर पनि आलापोटमै हो।

फरार रहेका थापा मंसिर ३० गतेमात्रै जापानबाट काठमाडौं आएका थिए। उनी आज (बिहीबार) फर्किने तयारीमा थिए।