माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ

माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सबैतिर असफल भइसकेको निष्कर्ष निकालेको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदस्यहरुलाई यस्तो ब्रिफिङ गरेका हुन् ।

पार्टी उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकको निर्णय सुनाउँदै भने, ‘सरकार हरेक कुरामा अनुपस्थितजस्तै छ । एक प्रकारले भन्ने हो भने सरकार असफल भइनैसकेको छ । बरु सरकार उल्टो दिशातिर जान लागिरहेको छ । सुशासनका विरुद्धमा, भ्रष्टाचार गर्नेहरुको संरक्षणमा, माफियाहरु, विचौलियाहरुको संरक्षणमा सरकार लागिरहेको छ ।’


उपाध्यक्ष सापकोटाले सरकार नाफामा गइरहेको विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङको विरुद्धमा लागेको, अदालतमा मुद्दा रहेका विवादित व्यापारीसँग जग्गा दान लिएको लगायतका विषयमा चर्चा भएको उनले बताए । यी घटनाले सरकारले प्रथम दृष्टिमै भ्रष्टाचारलाई पक्षपोषण गरेको पुष्टि हुने उनको भनाइ छ ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयलाई गुण्डाहरुका क्रिडास्थल बनाएको प्रवक्ता सापकोटाले बनाए । इतिहासमै पहिलो पटक ओलीले सिंहदरबारमा सिनेट बैठक राखेको उनले बताए । सिनेटको बैठक सोही प्राज्ञिक थलोमा गर्नुपर्नेमा प्रशासनिक थलोमा गरिएको उनले बताए । मेरिटोक्रेशीको आधारमा छानविनएका त्रिविका उपकूलपति केशरजंग बराल ओलीलाई मन नपरेको उपाध्यक्ष सापकोटाको भनाइ छ ।

वर्तमान सरकार विचार शून्य रहेको र लोकतान्त्रिक विचार, मूल्य, मान्यताबाट च्यूत भएको माओवादीको निश्कर्ष छ । अहिले सरकार नेतृत्व गरेको पार्टी एमालेभित्र लोकतन्त्र समाप्त भएको उपाध्यक्ष सापकोटाले बताए । एमालेले बोल्न मुख थुनेर शासन गर्न खोजेको उनले बताए ।

‘ज–जसले राम्रो काम गरेका छन्, जो–जो सु्शासनतिर छन्, तिनीहरुलाई अवरोध सिर्जना गर्ने, दुःख दिने, निकाल्न प्रयत्न गर्ने र विचौलियाहरु र भ्रष्टाचारीहरुलाई जोगाउने काम भइरहेको छ,’– उनले भने ।

सरकारले अरुकालाई छानीछानी कारबाही गर्ने, पक्रने र आफ्नालाई जोगाउने काम गरिरहेको उनको भनाइ छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, लेखा समितिका सदस्य ऋषिकेश पोखरेललगायतको सहकारी ठगीमा संलग्नता पुष्टि हुने प्रशस्त आधार हुँदापनि सरकारले नै जोगाइरहेको बताए । सरकार दिनप्रतिदिन अधो गतितिर गइरहेको माओवादीको निष्कर्षछ ।

सरकारको ज्यादति र अधीनायकवादी शैलीले नागरिक समाज पनि वाक्क–व्याक्क भइरहेको माओवादीको निष्कर्ष छ । सरकारको ज्यादतिबाट वाक्क भएर नागरिक समाज पनि उदासिनजस्तो देखिएको उपाध्यक्ष सापकोटाले बताए ।