राखेपको उपाध्यक्ष नियुक्तदेखि सम्पत्ति शुद्धीकरण दिवस मनाउनेसम्म मन्त्रिपरिषद्का २० निर्णय

राखेपको उपाध्यक्ष नियुक्तदेखि सम्पत्ति शुद्धीकरण दिवस मनाउनेसम्म मन्त्रिपरिषद्का २० निर्णय

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) को उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्‌को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो।

एमालेनिकट आचार्य मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष पनि हुन् । सरकारले अघिल्लो हप्ता राखेप सदस्यहरू मनोनीत गरेको थियो। मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

त्यस्तै मन्त्रिपरिषद्ले खानेपानी तथा सरसफाइ नियमावली, ऊर्जा विकास मार्गचित्र स्वीकृत गरेको छ भने निकासी पैठारीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ।

बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई सरकारले उपलव्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिएको छ । त्यस्तै, आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रशासन गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।