तत्कालीन नेकपा किन फुट्यो ? भीम रावलले गरे खुलासा

तत्कालीन नेकपा किन फुट्यो ? भीम रावलले गरे खुलासा

काठमाडौं । नेता डा भीम रावलले तत्कालीन नेकपा केपी ओलीको कारण फुटेको आरोप लगाएका छन् । बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘पार्टीभित्र सबै पक्षलाई व्यवस्थापन गर्ने जिम्मेवार अध्यक्षलाई हुन्छ । माओवादी र एमालेपछि बनेको नेकपामा अन्तरभेद सृजना गर्ने, विवाद चर्काउने पात्रको रुपमा केपी ओली धेरै पटक पुष्टि भइसकेका छन् ।’

केपी गुटले आफूप्रति अनर्गल प्रचार गरेको उनको आरोप छ । यस्तै, उनले आलोचक तथा विरोधीको उम्मेदवारी दिन रोक्ने गरेको आरोपसमेत लगाएका छन् ।

बालुवाटारमा रअका प्रमुख सामन्त गोयलसँग भेट्नु पदीय मर्यादाअन्तर्गत थियो ? उनले प्रश्न गरेका छन् ।

लुम्बिनी प्रदेशका तत्कालीन सांसद विमला वलीलाई अपहरण गरेको आरोपसमेत लगाएका छन् । ‘पद हत्याउन लुम्बिनी प्रदेशका तत्कालीन सांसद विमला वलीलाई अपहरण तपाईंको गुटिया महासचिव शंकर पोखरेल होइन ?’ उनले भने ।

उनले प्रधानमन्त्री रहँदा ओली भारत सरकारसामु लम्पसार परेको आरोपसमेत बताएका छन् ।

ओलीले केही युवालाई रक्सी खुवाएर आफू बसेको होटलबाहिर नाराबाजी गर्न लगाएको आरोप लगाएका छन् । उनले भने, ‘उद्घाटन सत्रको अघिल्लो दिनको साँझ म सौराहा पुगेको थिएँ । बस्ने ठाउँको अतोपतो थिएन । उहाँ (ओली)ले आफ्ना पक्षधरलाई भने रोजेको खोजेको व्यवस्था गर्नु भएको थियो । म आफ्नै व्यवस्थाले बसेको होटलबाहिर रक्सी खुवाएर केटाहरुलाई नाराबाजी गर्न लगाइयो । मेरो आग्रहमा सशस्त्र प्रहरी बलले उनीहरुलाई हटायो ।’

बागमती नदीको किनारामा बसेको सुकुम्बासीका लागि बनाइएको भवन ओलीले आफ्नी पत्नीको मानव सेवा आश्रमलाई निःशुल्क प्रयोग गर्न दिएको उनको आरोप छ ।