काठमाडौं । देशका केही स्थानमा शनिबार र आइतबारको तुलनामा आज तापक्रममा थोरै गिरावट देखिएको छ । सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोही समयमा आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस थियो । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
काठमाडौंमा यो वर्ष आजसम्मको कम तापक्रम भने गएको मंसिर २९ गते २.० डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।
महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –३.७ डिग्री सेल्सियस छ । आइबार जुम्लाको न्यूनतम तापक्रम १.७ डिग्री सेल्सियस थियो । शनिबार जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।