हुवावेमाथि ‘ट्रेड सिक्रेट’चोरीको आरोप

हुवावेमाथि  ‘ट्रेड सिक्रेट’चोरीको आरोप

काठमाडौ : बिहिबार अमेरिकी निरीक्षकहरुले चिनियाँ प्राविधिक कम्पनी, हुवावेमाथि ‘ट्रेड सिक्रेट’ अर्थात गोप्य व्यवसायिक जानकारी चोरीको अर्को आरोप लगाएको छ । न्युयोर्कस्थित अमेरिकी जिल्ला अदालतका अनुसार यसमा हुवावेले ट्रेड सिक्रेट र बौद्धिक सम्पदा अवैध रुपमा प्राप्त गर्न विभिन्न षड्यन्त्र रच्दै प्राविधिक ठगीको प्रयास गरेको छ ।

कम्पनीमाथि अमेरिकाले यसअघि नै दर्जनौँ अभियोग लगाएको थियो तर अदालतमा कुनैपनि आरोपका लागि दोषी पाइएको थिएन । यसरी ट्रम्प प्रशासन गत एक वर्षदेखि नै हुवावे विरुद्ध लडिरहेको छ । यसमा अमेििरकी अधिकारीहरुले कम्पनीको फाइभ–जी नेटवर्क प्रविधि प्रयोगमा रोक लगाउनुका साथै मित्र राष्ट्रहरुलाई समेत बहिस्कार गर्न दबाब दिएको हो । फाइभ–जी नेटवर्क हुवावेको व्यवासयिक वृद्धिको ठूलो माध्यम मानिन्छ ।

यसअघिका अभियोगमा भने हुवावेले बैंक ठगी गरेको, आर्थिक प्रतिबन्धको उल्लंघन गरेको लगायत भनिएको थियो जसलाई कम्पनीले लगातार अस्वीकार गर्दै आइरहेको छ । त्यस्तै बिहिबार उत्तर कोरिया र इरानसँगको अवैध कारोबारबारे पनि नयाँ खुलासा गरिएको छ । यसमा न्यायिक विभागले हुवावेलाई स्काइकम नामक बिजनेससँगको सम्बन्धबारे सत्य जानकारी नदिएको आरोप लगाएको हो ।

स्काइकमले २००९ मा तेहरान युद्धका समयमा इरान सरकारलाई स्थानीय निगरानी गर्न सघाएको थियो । हुवावे प्रमुखकी छोरी मेङ वाङजोउलाई पनि यही आरोपमा दोषी ठहर गरिएको छ । यता हुवावेले भने अमेरिकी सरकारलाई प्रतिस्पर्धात्मक कारणले आफ्नो छविलाई सधैँका लागि बिगार्ने प्रयास गरेको आरोप लगाएको छ । हुवावेले भनेको छ, “यी नयाँ आरोपहरु हुवावेको नाम सधैँका लागि खराब गर्ने प्रयास हुन् जसपछाडिको कारण न्यायिक नभएर प्रतिस्पर्धासँग जोडिएको छ । ” यता मेङ वान्जोउका बारेमा पनि उनी निर्दोष रहेकामा आफूहरु विश्वस्त रहेको कम्पनीले बताएको छ ।