सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कार आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बलात्कार आरोपमा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक अररीया कुशाकट्टा बस्ने महम्द गुलजार, मोरङ कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान र सोही स्थानका १९ वर्षीय सोनुकुमार साह रहेका छन् ।

कटहरी २ मा हातखुट्टा बाँधेको र मुखमा सल कोचेको अवस्थामा अर्धचेत फेला परेकी महिलाको मंगलबार दिउँसो उद्धार गरेर कोशी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार पराल लिन गएकी महिलाले हातखुट्टा बाँधेको अवस्थामा ती महिलालाई भेटेपछि प्रहरीलाई खबर पुगेको थियो ।

स्थानीयको सहयोगमा प्रहरीले महिलाको उद्धार गरी कोशी अस्पताल भर्ना गरेको थियो । महिलाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।  प्रहरीका अनुसार घरबाट बाहिर निस्किएकी महिलालाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी–२ स्थित बाँस झ्याङमा लागेर हातखुट्टा बाँधेर जबरजस्ती करणी गरेको  खुलेको थियो ।