भारतीय गायक सोनु निगम काठमाडौंमा

भारतीय गायक सोनु निगम काठमाडौंमा

काठमाडौं।  भारतका प्रसिद्ध गायक सोनु निगम आज यहाँको ह्यात चौरमा हुने सांगीतिक कार्यक्रमका लागि काठमाडौं आएका हुन्। ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आएका हुन्।

    उनी एयरइन्डियाको विमानमार्फत आज दिउँसो २ः३३ बजे काठमाडौं आइपुगेका हुन्। उनको १९ सदस्यीय सांगीतिक समूह (ब्याण्ड मेम्बर) भने आज बिहानै आएका थिए। नेपाली टच नेपालको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन् नेपाल आएका गायक निगमले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली दर्शकसँग साक्षात्कार गर्न आतुर रहेको प्रतिक्रिया दिए।

    उनले भने, “मैले नेपाली गीत धेरै गाए पनि नेपालमा पहिलोपटक सांगीतिक कार्यक्रममा प्रस्तुत हुँदैछु। नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेको छ, म यसलाई स्मरणीय बनाउनेछु।”

    आयोजक नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसंगीत पनि प्रस्तुत गर्नसक्ने भएकाले ल्याइएको बताए।

    कार्यक्रमका लागि न्यूनतम दुई हजारदेखि अधिकतम ५० हजारसम्मको टिकट शूल्क राखिएको छ। गायक निगमले स्वर दिएको नेपाली गीतहरू ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’लगायत लोकप्रिय छन्।