भक्तपुरमा बाबुछोरा हत्या प्रकरण : बुवा र भाइको हत्याका आरोपी मिलनले गरे आत्मसमर्पण

भक्तपुरमा बाबुछोरा हत्या प्रकरण : बुवा र भाइको हत्याका आरोपी मिलनले गरे आत्मसमर्पण

काठमाडौँ । भक्तपुरमा बाबुछोरा हत्या प्रकरणमा जेठा छोराले प्रहरीसामु आत्मसमर्पण गरेका छन् ।

मिलन आचार्यले मङ्गलबार महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका थिए ।

घटनापछि मिलन फरार थिए । आत्मसमर्पण गरेका मिलनले  प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा हत्या गरेको प्रहरीमा बताएका छन् । मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेको बयान दिएका छन् ।

घटनापछि उनी इनड्राइभबाट मोटरसाइकल मगाएर सातदोबाटोसम्म पुगेका थिए । त्यहाँबाट फेरि अर्को इनड्राइभ गरेर कलङ्की पुगे । त्यहाँ पुगेर मोबाइलको सिम फ्याँके । त्यसपछि उनी महारनगञ्ज प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेका हुन् । अब घटनाबारे अनुसन्धान तीव्र बनाइने एसएसपी भट्टराईले बताए ।