निवर्तमान सभामुख महराको मुद्दामा भोलि फैसला

काठमाडौं : काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमा सोमबार मात्र फैसला सुनाउने भएको छ ।

आइतबार सुनुवाई भएको उक्त बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

महराविरुद्ध सरकारी वकिलले बहस गरेका थिए भने उनको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए । 

गत असोज पहिलो साता महरामाथि संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले आफूमाथि जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् । आरोप लागेपछि उनले असोज १४ गते राजीनामा दिएका थिए ।  हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।