काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रारम्भिक चरणको अन्तिम खेलमा सोमबार कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय दुई रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनाएको हो ।
प्ले अफ चरणमा पुग्न आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको खेलमा पनि कर्णाली याक्सका माथिल्लो क्रमका ब्याट्सम्यानहरूले गतिलो प्रदर्शन गर्न सकेनन् । टोलीको कुल स्कोर ५० रन पुग्नु अगावै कर्णाली याक्सले आफ्नो महत्त्वपूर्ण चार विकेट गुमाइसकेको थियो ।
कर्णाली याक्सका लागि छैटौँ नम्बरमा क्रिज समाल्न आएका जिसन मक्सुदले सर्वाधिक ३० रनको योगदान गरे । उनले ३५ बलको सामना गरी चार चौका पनि हिर्काए । टोलीका ओपनर ब्याट्सम्यान बाबर हायात भने नौ बलमा तीन चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए ।