काठमाडौं। गृहमन्त्री रमेश लेखकले साइबर अपराध र घृणात्मक अभिव्यक्तिको विरुद्धमा सरकार निर्मम रुपले अगाडि बढ्ने चेतावनी दिएका छन्। आज (बिहीबार) काठमाडौंमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तरप्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले व्यक्तिको चरित्रहत्या गर्ने, समाजमा द्वन्द्व बढाउने, विशेष, भूगोल, धर्म र भाषाका बीचमा विद्वेष फैलाउने र समाजलाई गलत ढंगले प्रभावित पार्ने गतिविधिविरुद्ध सरकार निर्मम रुपले प्रस्तुत हुने बताएका हुन्।
‘साइबर क्राइममा खासगरी घृणात्मक अभिव्यक्तिहरू बढिरहेको छ। कसैको व्यक्तिको चरित्रहत्या गर्ने, समाजमा द्वन्द्व बढाउने, भूगोल, धर्म र भाषाको बीचमा विद्वेष फैलाउने र समाजलाई गलत ढंगले प्रभावित पार्ने तरिकाले यो अपराध बढिरेहेको छ। अपराध नियन्त्रणका लागि कुनै पनि खालको सम्झौता नगरी निर्मम ढंगले प्रस्तु हुन आवश्यक छ,’ उनले भने।
विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहे पनि संविधानकै कारण मुलुक समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको उनको भनाइ थियो।
गृहमन्त्री लेखकले अपराध नियन्त्रण, कानुन कार्यान्वयन र विपद् व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढङ्गबाट अघि बढ्नुपर्ने आवश्यकतासमेत औंल्याए। गृहमन्त्री लेखकले संविधानतः सहकारिता, समन्वय र सहअस्तित्वमा आधारित सङ्घीयता मुलुकले अङ्गीकार गरेको उल्लेख गर्दै तीनै तहको समन्वयमा प्रशासनिक कार्य अघि बढाइनुपर्नेमा जोड दिए।
मुलुकको शान्ति सुरक्षाको अवस्थामा खासै ठूलो चुनौती नभए पनि अपराधका नयाँ आयामले चिन्ता थपेको उनको भनाइ छ। ‘परम्परागत अपराध नियन्त्रणका लागि त निरन्तर काम गर्नु परिरहेको छ, तर अहिले लागुऔषध, आत्महत्या, सडक दुर्घटना र साइबर अपराध चुनौतीपूर्ण ढङ्गले देखापरेका छन्, यसलाई न्यूनीकरण गर्न तीनै तहका सरकारले मिलेर काम गर्नुपर्छ,’ गृहमन्त्री लेखकले भने।