सिमेन्टको मूल्य घटाउने सहमति

सिमेन्टको मूल्य घटाउने सहमति

काठमाडौं । सिमेन्ट उद्योगी व्यवसायीहरुले सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता जनाएका छन् । बुधवार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीचको उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

छलफलपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष सिंहले काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरुले प्रतिवद्धता गरेको बताए ।

उनकाअनुसार काठमाडौं उपत्यकामा अब ६०० रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध हुनेछ । आफूहरुले सिमेन्ट उद्योगीहरु धरासायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ ।

उनले भने ‘आजको बैठकमा जुन सिमेन्ट उत्पादकहरुले अत्याधिक मूल्य वृद्धि गर्नुभएको छ, त्यस विषयमा दुवै पक्षबीच छलफल भएको छ । काठमाडौंमा ७ सय रुपैयाँमा ओपिसी सिमेन्ट उपलब्ध गराउने भनेर उहाँहरुले प्रतिवद्धता जनाउनुभएको छ । काठमाडौंको भाडा भैरहवा र वीरगञ्ज कोरिडोरबाट १४० रुपैयाँ हुँदाखेरि सिमेन्टको मूल्य पाँच सय ४० रुपैयाँमा फ्याक्ट्रिमा हुने भएको छ । अहिले यसको मूल्य ६ सय ८० रुपैयाँ रहेको छ । ’