सुदूरपश्चिम रोयल्सले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

सुदूरपश्चिम रोयल्सले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको मध्यम लक्ष्य दिएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रनको योगफल खडा गरेको हो ।  सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । ३७ बल खेलेका विनोदले तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर सैब जैबले २१ बलमा दुई छक्कासहित २१ रन बनाए ।

यी दुईले पहिलो विकेटका निम्ति ७.४ ओभरमा ५५ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, यसपछिका अन्य ब्याटर जनकपुरका बलरसामु खुलेर खेल्न सकेनन् । सुदूरपश्चिमका इशान पाण्डेले १४ बलमा एक चौका र एक छक्कासहित १७ रन जोडे । ब्रान्डन म्याकमुलमले १७ बलमा ११ रन थपे । यसबाहेक, सुदूरपश्चिमका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । अविजित रहेका नरेश बुढाऐरले नौ र अभिनाश बोहराले दुई रन बनाए ।

सुदूरपश्चिमलाई मध्यम योगफलमा रोक्न जनकपुरका किशोर महतोले चार विकेट लिए । चार ओभर बलिङ गरेका किशोरले ३५ रन खर्चिए । किशोरले सुदूरपश्चिमका आरिफ सेख, इशान पाण्डे, स्कट कुग्गेलेन र नरेन साउदको विकेट लिए ।

शेर मल्ल र अर्निको यादवले समान दुई विकेट लिए । शेरले हर्मित सिंह र विनोद भण्डारी तथा अर्निकोले दीपेन्द्रसिंह ऐरी र ब्रान्डन म्याकमुलमको विकेट लिए । हर्ष थाकेरको नाममा एक विकेट रह्यो । हर्षले सुदूरपश्चिमका सैब जैबलाई पभेलियनको दिशा देखाए ।

प्रतियोगिताको एकमात्र अपराजित जनकपुरले यसअघिका चारमध्ये चारै खेलमा जित निकालेको छ । आजको खेलमा सुदूपश्चिमविरुद्ध जित निकाले जनकपुर प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बन्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमै विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको जनकपुरले दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि आठ विकेटकै जित निकालेको थियो । तेस्रो खेलमा जनकपुरले पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो ।

चार खेलबाट आठ अंक जोडेको जनकपुर तालिकाको शीर्ष स्थानमा छ । शीर्षक्रम ब्याटिङमा रहेका कप्तान अनिल साह, विकेटकिपर आसिफ सेख, लहिरु मिलान्था, जिम्मी निसम र हर्ष थोकरबाट जनकपुरले बलियो साथ पाएको थियो ।

यता, चारमध्ये तीन खेलमा जित निकालेको सुदूरपश्चिम पनि आजको खेलमा जितसहित प्लेअफको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।

चार खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ । टिमका कप्तान समेत रहेका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसँगै सैब जैब, विनोद भण्डारी, ब्रान्डन म्याकमुलमको साथले सुदूरपश्चिमलाई प्रतियोगिताकै उपाधि दाबेदारको रूपमा हेरिएको छ ।

सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित, खेलमा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित दर्ता गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजविरुद्ध ३३ रनको हार बेहोरेको थियो ।  

प्रतियोगितामा जनकपुरले चारमध्ये तीन खेलमा लक्ष्य पछ्याउँदा जित निकालेको थियो । यता, सुदूरपश्चिमले भने जितका तीनवटै खेलमा टोलीले प्रस्तुत गरेको लक्ष्य रक्षा गरेको थियो ।