एमसीसी सम्झौता संसदमा पेश भएलगत्तै पारित हुन्छ : प्रधानमन्त्री ओली

एमसीसी सम्झौता संसदमा पेश भएलगत्तै पारित हुन्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० कम्प्याक्ट परियोजनाबारे सम्झौता सभामुखले संसदमा पेश गर्नासाथ पारित हुने दावी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले एमसीसी सम्बन्धित प्रस्ताव संसदमा रहेको र सभामुखले संसदमा निर्णयार्थ पेश गर्नासाथ पारित हुने दाबी गरेका हुन् ।

एमसीसी पारित गर्ने कि नगर्ने भन्नेबारेमा सत्तारुढ नेकपाभित्रै विवाद रहेका बेला प्रधानमन्त्री ओलीले सभामुखले संसदमा पेश गर्नासाथ त्यो पारित हुने दावी गरे।

एमसीसीका बारेमा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समितिले अध्ययन गरिरहेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले एमसीसीमार्फत हुने सहयोगले नेपाली अर्थतन्त्रको तस्बिर नै फेरिने दावी पनि गरे ।

आउँदो ५ वर्षभित्र एमसीसी परियोजना पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्बिर बदलिने निश्चित रहेको उनको दावी थियो ।

एमसीसी कम्प्याक्ट अन्तर्गत अमेरिकाले दिने र नेपाल सरकारले खर्च गर्ने रकबाट निर्माण हुने प्रसारण लाइन लगायतका कामबाट देशको अर्थतन्त्र नै बदलिने उनको भनाइ थियो ।