बाठमाडौँ । भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर शिखर धवन सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चार खेल खेलेपछि स्वदेश फर्किदैछन्।
एक खेलबापत ३० हजार अमेरिकी डलर पाउने गरी कर्णाली याक्समा सम्झौता गरेका धवनले कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार आफ्नो चौथो खेल खेले। उनले कम्तिमा चार खेल खेल्ने गरी सम्झौता गरेका थिए।
शनिबार विराटनगर किंग्सविरूद्धको खेलको बीचमा टेलिभिजन लाइभमा बोलेका धवनले आफ्नो घुँडाले साथ दिएमा अर्को सिजन खेल्न आउने बताए। उनले एनपिएलमा नेपाली खेलाडीको प्रदर्शनको पनि प्रशंसा गरेका थिए। उनले बाँकी खेलमा घुँडाकै समस्याका कारण खेल्न नसक्ने बताइएको छ।
गत सिजनको आइपिएलमा उनले पञ्जाव किंग्सबाट खेलेका थिए। त्यतिबेला पनि उनको काँधमा चोट लागेको थियो। उनले गत सिजन पञ्जावका लागि पाँच खेल मात्र खेलेका थिए।
आइपिएलपछि अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटबाट संन्यास लिएका धवनले आफू चोटबाट शतप्रतिशत निको हुन नसकेको बताएका थिए। उनले संन्यास लिनुको कारण आफ्नो उमेर समेत बताएका थिए। उनले ३८ वर्षको उमेरमा संन्यास लिएका थिए।
भारतीय क्रिकेट नियन्त्रण बोर्डले राष्ट्रिय टोली तथा घरेलु क्रिकेट खेल्ने खेलाडीलाई विदेशको क्रिकेट खेल्ने अनुमति दिँदैन। संन्यासपछि मात्र अर्को देशमाब क्रिकेट खेल्न पाइने भएका कारण धवन एनपिएल खेल्न नेपाल आएका हुन्।
उनी जारी एनपिएल खेल्ने भारतको राष्ट्रिय टोलीबाट खेलेका एक मात्र खेलाडी हुन्। एनपिएलमा उनीसँगै न्युजिल्यान्डका जिमी निशम, अस्ट्रेलियाका बेन कटिङ र पाकिस्तानका सोहेल तन्विर जस्ता चर्चित खेलाडी आएका छन्। उनीहरूले भने सिजनका पूरै खेल खेल्नेछन्।
धवन नोभेम्बर २९ मा नेपाल आएका थिए। एनपिएल उद्घाटनमा सहभागी भएका उनले पशुपतिनाथको दर्शक समेत गरेका थिए। धवन विराटनगरविरूद्धको आफ्नो अन्तिम खेलमा ओपनिङ गर्दा ५ रनमा आउट भएका थिए। उनी विराटनगरका प्रतिश जिसीको बलमा बोल्ड भएका थिए। यससँगै जिसी धनवको विकेट लिने पहिलो नेपाली बलर बनेका थिए।
उनले चारमध्ये एक खेलमा अर्धशतक प्रहार गरे। काठमाडौं गुर्खाजविरूद्ध नटआउट ७४ रन जोड्दा चितवन राइनोजसँग ४५ रन र जनकपुर बोल्ट्ससँग १४ रन बनाएका थिए। उनले चार खेलमा कुल १३६ रन जोड्न सके। जनकपुरविरूद्ध खेल्दा क्यानेडियन अलराउन्डर हर्ष थाकर र चितवनविरूद्ध खेल्दा नामिबियाका लोफ्टी इटनले धवनको विकेट लिएका थिए।
धवन कर्णालीको टोलीमा हुँदा टोलीको वातावरणमा निकै फरक परेको कप्तान सोमपाल कामीले बताएका थिए। उनले धनवले नेपाल युवा खेलाडीलाई टिप्स दिएको सोमपालको भनाइ छ। उनले नेपाली ब्याटरलाई लामो समय मैदानमा टिकेर खेल्न समेत सुझाव दिएका थिए।
एनपिएलकै बीच आफ्नो ३९ औं जन्मदिन मनाएका धवनले त्रिवि मैदानमा पनि छुट्टै माहोल सिर्जना गरेका थिए। जन्मदिनको भोलिपल्ट विराटनगरविरूद्ध खेल्दा फ्यानहरूले ठूलो हुटिङ गरेर शुभकामना समेत दिएका थिए। उनी त्रिवि मैदानको माहोलमा निकै रमाएका थिए।