पूर्व-उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

पूर्व-उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

काठमाडाैं। पूर्व-उपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको पदाधिकारी बैठकमा निरन्तर सहभागी हुन थालेका छन्। पार्टी अध्यक्ष प्रचण्डकै आग्रहमा पुन सक्रिय राजनीतिमा फर्किने तयारी गरेकाले पदाधिकारी बैठकमा उपस्थित हुन थालेका माओवादी केन्द्रका नेताहरूको भनाइ छ।

बिहीबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पनि पुन सहभागी भएका थिए। पदाधिकारी बैठकले पूर्व-उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई उपाध्यक्ष बनाउने तयारी गरेको थियो। तर, बिहीबारको बैठकले निर्णय भने गरेन।

माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘उहाँ बैठकमा आउन थाल्नुभएको छ, जिम्मेवारीबारे निर्णय भएको छैन। अब २७ र २८ गतेका लागि स्थायी कमिटीको बैठक बोलाइएको छ। त्यसले निर्णय गर्नसक्छ। त्यसबारे थप निर्णय गर्नुपरे पुस २ गतेबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पनि छलफल हुन्छ।’

अध्यक्ष प्रचण्डले पुनसँगै लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई पनि सक्रिय राजनीतिमा फर्काउने तयारी गरेका छन्।

शेरचनलाई पनि उपाध्यक्ष बनाउने गरी छलफल चलिरहेको भए पनि निर्णयमा नपुगेको जानकारी दिँदै ती पदाधिकारीले भने, ‘उहाँ पनि अध्यक्षको निरन्तर सम्पर्कमा हुनुहुन्छ। उपाध्यक्ष बनाउने भन्नेबारे अहिले बाहिर चर्चा भइरहेको छ। तर, उहाँको विषयमा अध्यक्षले केही भन्नुभएको छैन । छलफलमै हुनुहुन्छ होला।’ माओवादीले यसअघि पनि सभामुख भएका अग्निप्रसाद सापकोटालाई पार्टी उपाध्यक्ष बनाएर सक्रिय राजनीतिमा फर्काएको थियो।