प्रधानमन्त्री भएपछि शितलहरबाट कसैले ज्यान गुमाउनु परेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको दुई वर्षको अवधिमा शितलहर र जाडोले कठ्यांग्रिएर कसैले ज्यान गुमाउनु नपरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा आफूले नेतृत्व सम्हालेको दुई वर्षको उपलब्धीको फेहरिस्त प्रस्तुत गर्दै उनले हिमालमा जाडो र तराईमा शितलहरले कसैको पनि ज्यान नगएको बताए ।

“यो सरकार बन्नुअघि तराईमा शितलहर र हिमालमा जाडोले कठ्यांग्रिएर हरेक हिउँदमा दर्जनौं मानिसहरु मर्थे । विगत दुई वर्ष यता जाडो र शितलहरबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन,” उनले भने, “यो अंक मात्र होइन अनुभूति पनि हो ।”

अंकमा मात्र होइन जनताले अनुभूत हुने गरि सरकारले काम गर्न सकेन भन्दै हुने आलोचनातर्फ लक्षित गर्दै उनले सरकारले जनताले अनुभूत गर्नेगरी काम गरेको दाबी गरे । राष्टियसभा र उपनिर्वाचनमा जनता सरकारकै पक्षमा पक्षमा देखिएको बताउँदै उनले सरकारको काम जनताले अनुभूत गरेको प्रमाण भएको बताए ।