अमेरीकाको एक अनाथालयमा आगलागी, १५ बालबालिकाको जलेर मृत्यु

अमेरीकाको एक अनाथालयमा आगलागी, १५ बालबालिकाको जलेर मृत्यु

काठमाडौं : अमेरिकाको धार्मिक गैरनाफामूलक संस्थाले हैटीमा सञ्चालन गरेको अनाथालयमा आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको मृत्यु भएको छ ।

हैटीको राजधानी पोर्ट औ पिन्सको अनाथालयमा शुक्रबार आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको ज्यान गएको हो । ६० बालबालिका भने आगलागीबाट बाँच्न सफल भएका छन् ।अनाथालयको चर्चबाट सुरु भएको आगोमा जलेर ती बालबालिकाको मृत्यु भएको हैटीस्थित युनिसेफको बालबालिका सुरक्षा प्रमुख जेनिफर मेल्टनले जनाएकी छन् ।

अग्नि नियन्त्रण संस्थाका अधिकारीहरूले बलिरहेको क्यान्डलबाट आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । तर, ठोस कारण अहिलेसम्म पत्ता लागिसकेको छैन । हैटीका राष्ट्रपति जोभेनल मोसीले एक ट्विट गर्दै घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् । साथै उनले घटनाबारे सत्यतथ्य पत्ता लगाउन अधिकारीहरूलाई निर्देशन दिएका छन् ।पेन्सिलभेनिया बेस्ड द चर्च अफ बाइबल अन्डस्ट्यान्डिङले हैटीमा सन् १९७७ देखि अनाथ र असहाय बालबालिकाका लागि लक्षित गरेर अनाथालय सञ्चालनमा गरेको छ । पछिल्लो समय गृहमा १५० बालबालिका आश्रित थिए ।