चुनावी गठबन्धनको तयारीमा माओवादी र समाजवादी

चुनावी गठबन्धनको तयारीमा माओवादी र समाजवादी

काठमाडौं । ४४ स्थानमा हुन लागेको उपनिर्वाचनमा समाजवादी मोर्चामा आबद्ध दलहरुबीच मिलेर जाने सहमती भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी चुनावी गठबन्धनका लागि भित्रभित्रै छलफल गरिरहेका छन् । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा माओवादी र एकीकृत समाजवादी चुनावी गठबन्धन गर्नेगरी छलफलमा जुटेका हुन् ।


सत्ता सहकार्य गरेपनि निर्वाचनमा गठबन्धन नगरी एक्लै भिड्ने भन्दै सार्वजनिक स्थलमै ढोल पिटिरहेका माओवादी अध्यक्ष दाहाल अन्ततः नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समिकरणले त्रसित बनेका छन् । उता, २०७९ सालको निर्वाचनमा राष्ट्रिय पार्टीको मान्यता नपाएको एकीकृत समाजवादी कोहि आउला र खाउँला भनेर बसिरहेका बेला माओवादीले गठबन्धन गर्ने निर्णय गरेपछि अध्यक्ष माधव नेपाल हर्षीत देखिएका छन् ।

सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न थालेपछि, मानव तस्करीको आरोपमा कोशी प्रदेश सरकारका कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ गरी अनुसन्धान थालेपछि र गण्डकी प्रदेशका पूर्व वनमन्त्री अर्थात् गुण्डाहरुको नाइके भनेर चिनिने राजिव गुरुङ (दीपक मनाङे)लाई कारागार चलान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासनको प्रत्याभूति दिएको चर्चा चलिरहेको समयमा एक्ला-एक्लै चुनावमा गएपछि पराजयको स्वाद चाख्नुपर्ने अवस्था आउन सक्ने भएकाले माओवादी अध्यक्ष दाहाल आफ्नो स्वार्थपूर्तिका लागि चुनावी गठबन्धन गर्न तयार भएका हुन् ।

ओली प्रधानमन्त्री नियुक्ति भएदेखि नै आलोचनामाथि आलोचना भइरहेको थियो । आफ्नो पार्टीका नेतालाई आरोप लाग्दा समेत कारबाही नगरेको र अन्य दलका नेतालाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै ओली नेतृत्वको सरकार विरुद्ध नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले सडक आन्दोलन गरेको थियो । ओली विरुद्ध आक्रामक रुपमा आन्दोलन भइरहँदा र सरकारको कार्यशैलीमाथि अनेकन आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेता तथा कोशी प्रदेशका कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको आरोपमा पक्राउ गरी हिरासतमा राखेपछि सरकारले सुशासनको कामको शुरुआत गरेको समिक्षा भइरहेको छ ।

प्रधानमन्त्री ओली आलोचना भन्दामाथि उठेर सकारात्मक रुपमा अघि बढिरहेका बेला उता माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल उपनिर्वाचनको दौडधुपमा लागेका छन् । विपक्षी दलहरुको भनाइलाई आधार मान्ने हो, भनेपनि उपनिर्वाचनमा सत्तारुढ दलभन्दा पनि आफ्नो पार्टीले जित्ने ढुक्क छन् । कुन दलले कति ठाउँमा जित्छ, त्यो मतपरिणामले देखाउला । तर, अहिले उपनिर्वाचनका लागि प्रचारप्रसार गर्ने क्रममा विपक्षी दल डराएको अवस्थामा देखिन्छन् । उनीहरु जनताको समस्या समाधान गर्नेमा भन्दापनि सत्तारुढ दललाई आरोप लगाउनमा व्यस्त छन् । प्रधानमन्त्री ओलीले सुशासनको थालनी गर्न लागेकै दिनदेखि विपक्षी दल आत्तिएका छन् । चुनावमा एक्लै लड्ने तर स्थानीय तहमा आवश्यकता अनुसार सहकार्य गर्ने नीति लिएर माओवादी र नेकपा एस मिलेर जान तयार भएका छन् ।

समाजवादीले हालसम्म कीर्तिपूर ४ को वडाध्यक्षको उम्मेदवार मात्रै टुंगाएको छ । मेयरमा भने माओवादीलाई सघाएर जाने छलफल चलिरहेको माधव निकट नेताहरुको भनाइ छ । दुई ठूला दल कांग्रेस एमालेले चुनावी गठबन्धन नगर्ने नीति अघि सारेपछि माओवादीले पनि पदाधिकारीको बैठकमा एक्लै चुनाव लड्ने निर्णय गरेको थियो । तर, माओवादीको गढ भएको क्षेत्रमा कांग्रेस एमाले पनि मिल्ने संकेत पाएपछि माओवादीले पनि एकीकृत समाजवादी सहित विपक्षी दलहरुसँग सहकार्य गर्न लागेको हो ।

माओवादी अध्यक्ष दाहालसँग असन्तुष्ट भएर मोर्चामा निष्क्रिय भएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई पनि चुनावी मोर्चामा जोड्ने गरी छलफल चलिरहेको छ । समाजवादी मोर्चामा माओवादी, नेकपा एस, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन् ।