काभ्रेपलाञ्चोक । भदौ २४ गते पनौतीमा भएको तोडफोड तथा आगजनी घटनामा संलग्न भएको देखिने भिडियो सार्वजनिक भएपछि रास्वपा पनौतीका नगर सभापति विवेक भट्टराईले पार्टी छाड्ने घोषणा गरेका छन्। सार्वजनिक भएका फोटो र भिडियोमा निजी तथा सरकारी सम्पत्तिमा आगजनी र तोडफोडको दृष्य देखिएको थियो।
भीडियोअनुसार भट्टराई नै पूर्वसांसद शिव हुमागाईंको घर अगाडि रहेको गाडीमा आगो लगाउन देखिन्छ। पनौती क्षेत्रमा आयोजनाको नेतृत्व गर्ने जिम्मा भट्टराईले सम्हालेका थिए। भीडले सुरुमा हुमागाईंको घरमा तोडफोड र आगजनी गरेपछि सोही टोलीले उपमेयर गीता बञ्जारा, रामशरण भण्डारी, पूर्वप्रमुख भीम न्यौपाने र अन्यका घरमा समेत आक्रमण, तोडफोड तथा लुटपाट गरेको घटना उल्लेख गरिएको छ।
जहाँसम्म घटनाको विवरण छ, भीम न्यौपानेको घरमा पुगेर भिड रोकिन नसकेपछि भट्टराई फर्किएका थिए। घटनापछि भट्टराईले न्यौपानेलाई फोन गर्दै ‘मामा भिड रोक्न सकिनँ, ज्यान जोगाउनु है’ भनेको भिडियो/अडियोमा सुनिएको बताइएको छ।
विवेक भट्टराई हाल काठमाडौं विश्वविद्यालय कुप्समा ल्याब टेक्निसियनको रूपमा कार्यरत छन्। सार्वजनिक प्रमाण देखिएपछि उनले रास्वपा छाडेको घोषणा गरेका हुन्।