काठमाडाैं। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवासहित एमालेका ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेताहरूलाई सक्रिय राजनीतिबाट संन्यास लिन सुझाव दिएका छन् ।
शनिबार भिडियो सन्देश जारी गर्दै महामन्त्री शर्माले यो कुरा आफूले विगतदेखि नै भन्दै आएको जनाएका छन् । उनले आफूले पार्टी सभापति देउवालाई ‘अब तपाईंले त्याग गर्न बाँकी छ’ भनेर पटकपटक सम्झाएको पनि उनले स्मरण गरेका छन् ।
‘मलाई हिजो मात्रै एक जना साथीले गुगलमा सर्च गर्न‘भएछ, मलाई स्क्रिनसर्ट पठाउनुभएछ, देउवा, ओली र दाहाल तीनै जना नेताले सक्रिय राजनीति छोड्नुपर्छ र अभिभावक बन्नुपर्छ, मैले गाउँको त्यो कार्यक्रममा जाँदा बोलेको रहेछु, देउवा, ओली र दाहालले संन्यास लिनुस्,’ शर्माले भनेका छन् ।
उनले नागरिक पंक्तिमा चरम असन्तुष्टि रहेको, निर्वाचनपछि बन्ने नयाँ सरकारमा ओली, देउवा र प्रचण्ड पालैपालो प्रधानमन्त्री बनेको बताए । पुराना नेताहरूले कहिले छोड्छन् भनेर पर्खिनुपर्ने आवस्था रहेको उनको भनाइ छ ।
‘चुनाव हुने, नयाँ सरकार बन्ने, प्रधानमन्त्री उनै, दुई–तीन जना नेताको बीचमा घुमिरह्यो, उहाँहरूले कहिले छोड्नुहुन्छ भनेर पर्खिनुपर्ने भयो, छोडिदिनुस् न भनेर अनुरोध गर्न ‘पर्ने भयो, यसलाई विधिमा ल्याऔं , सिस्टममा ल्याऔं, ता कि भोलि विश्वप्रकाश शर्मा, गगनकुमार थापाहरूको पुस्ताले आएर नेतृत्व गर्दैगर्दाखेरि फेरि कसैले आएर छोडिदिनुस् न भन्न नपरोस्,’ उनले भने ।
यही अवस्थाको अन्त्य गर्नका लागि आफूले पार्टीमा ‘वान, टू, थ्री, फोर’को कुरा ल्याएको उनले बताए । एकपटक मात्र राष्ट्रपति, दुईपटक मात्रै प्रधानमन्त्री, तीनपटक मात्रै मन्त्री र चारपटक मात्रै सांसद बन्न पाउने व्यवस्था भएको खण्डमा पदका लागि कोही पनि सिंहदरबारमा घाम तापेर नबस्ने उनको तर्क छ ।
साथै, जेन–जी आन्दोलनका क्रममा भएका घटनाको उच्चस्तरीय छानबिन समिति बनाएर दोषीमाथि कारबाही गरिनुपर्ने उनको माग छ । उनले भने, ‘त्यो दिन जे भएको छ, त्यस घटनालाई नयाँ बनेको सरकारले उच्चस्तरीय छानबिन बनाएर जो–जो दोषी हो, प्रत्येकलाई कारबाहीको कठघरामा ल्याउनुपर्छ ।’