काठमाडौं । दुई दिनको जेन-जी आन्दोलनले नेपालमा राजनीतिक उथलपुथल ल्याइदिएको छ । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्दको विरोधमा युवाहरूले सुरु गरेको आन्दोलनले दुई दिनमै सरकार र सत्ता मात्रै होइन, मुलुक नै तहसनहस बनाइदियो । पहिलो दिन (भदौ २३ गते)को आन्दोलनमा सरकारले दमन गरेर १९ जनाको ज्यान गएपछि आक्रोशित युवाहरूले भोलिपल्ट राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका कब्जा गरी ध्वस्त पारे ।
शासक, प्रशासन, दलका नेताहरूका निवास तथा पार्टी कार्यालयमा आगजनी गरे । यो क्रम संघीय राजधानी काठमाडौंमा मात्रै होइन, देशव्यापी चल्यो । जेन-जी विद्रोहका कारण २८ घण्टामा झण्डै दुई तिहाइको जननिर्वाचित शक्तिशाली सरकार ढल्यो, नेताहरूको भागाभाग भयो । अहिले माहोल विस्तारै शिथिल हुन थालेको छ । पूर्व-प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । संसद् विघटन भएर आगामी फागुनमा चुनाव पनि घोषणा भएको छ ।
नेपालमा भएको यो पछिल्लो राजनीतिक उथलपुथलसँग जोडिएको एउटा रोचक संयोग पनि छ । आजभन्दा १० वर्षअघि मात्रै नेपालमा संविधान बनेको थियो । संविधान बनेको १० वर्ष पुग्नै लाग्दा फेरि उथलपुथल भएको हो । त्यसको करिब १० वर्षअघि नै नेपालमा अर्को उथलपुथल भएको थियो । २०६२/०६३ सालमा भएको जनआन्दोलनले २४० वर्ष शासन गरेको राजसंस्था फालेको थियो ।
त्यसको १० वर्षअघि २०५२ सलमा तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र युद्ध सुरु गरेको थियो । १०/१० वर्ष राजनीतिक परिवर्तन भएका उदारहण त्यसअघि पनि छन् । २००७ सालमा राणा शासन फालेर प्रजातन्त्र आएको थियो । तर, त्यसको १० वर्षपछि अर्थात् १०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरी सत्ता हातमा लिएका थिए।
पञ्चायत उल्टाउन भने ३० वर्ष लाग्यो । यद्यपि, २० वर्षपछि २०३७ सालमा पञ्चायत उल्टाउन जनमतसंग्रह भएको थियो । तर, पञ्चायत नै विजयी भयो । त्यसको १० वर्षपछि २०४६ सालको जनआन्दोलनले पञ्चायत फालेर राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापित गरेको थियो । तत्कालीन नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले गरेको आन्दोलनको बलमा २०४६ चैत २६ गते ३० वर्षे निरंकुश पञ्चायती व्यवस्था ढलेको थियो ।
२०५२ मा विद्रोह
२०५२ साल नेपाली राजनीतिका लागि एउटा अविस्मरणीय वर्ष हो । ०५२ सालमा तत्कालीन माओवादीले सशस्त्र युद्ध अर्थात् उसकै शब्दमा जनयुद्ध सुरु गरेको थियो । ०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरु भएको थियो । यसको पुष्ठभूमि भने अलि अगाडिदेखि नै बनेको थियो । २०४६ सालको आन्दोलनमा संवैधानिक राजतन्त्र, बहुदलीय व्यवस्था स्थापना गर्न राजा र आन्दोलनरत दलहरूबीच सम्झौता भएको थियो ।
तर, उक्त सम्झौतालाई लिएर गणतन्त्र पक्षधर नेकपा(चौम) समूहका दलहरूले अस्वीकार गरेका थिए । तत्कालीन नेकपा(मसाल)ले राजा र संयुक्त आन्दोलनका दलहरूबीच भएको सम्झौतालाई देश र जनताप्रति ठूलो धोका भएको निष्कर्ष निकालेको थियो ।
२०४५ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेकपा (मसाल)का महामन्त्री भएपछि दीर्घकालीन जनयुद्ध गर्ने लक्ष्यसहित माओवादी विचार समूहलाई एकता गरी नेकपा (एकता केन्द्र) पुनर्गठन गर्नुभएको थियो । उहाँकै नेतृत्वमा २०५२ साल फागुन १ गते तत्कालीन शाही सत्ताविरुद्ध सशस्त्र विद्रोह घोषणा गरिएको थियो । राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी ४२ बुँदे माग राखेर माओवादीले जनयुद्ध घोषणा गरेको थियो । तर, माओवादीको माग सरकारले समयमै सम्बोधन गर्न नसक्दा राज्यले ठूलो क्षति बेहो¥यो । त्यसयता हरेक १०/१० वर्षमा नेपालको राजनीतिमा उथलपुथल भइरहेको छ ।
२०६३ मा राजसंस्थाको अन्त्य
२०६२/६३ सालमा भएको १९ दिने जनआन्दोलनले २३८ वर्ष लामो राजतन्त्रको अवसान भएको थियो । २०६२ चैत २४ देखि सुरु भएको आन्दोलन वैशाख ११ गतेसम्म चलेको थियो । त्यसको पुष्ठभूमि पनि अलि अगाडिबाटै तयार भएको थियो । २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि सत्तामा आएका ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते सत्ता ‘कू’ गरी शासन सत्ता आफ्नो हातमा लिए।
ज्ञानेन्द्रको ‘कू’पछि आक्रोशित भएका तत्कालीन सांसदवादी सात दल माओवादीसँग मिल्न पुगे । दुई पक्षबीच २०६२ मंसिर ७ मा १२ बुँदे सहमति भयो र सोही सहमतिका आधारमा भएको जनआन्दोलनले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने बाटो खोल्यो र राजतन्त्र ढलेपछि २०६५ साल जेठ १५ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो ।
२०७२ मा शान्ति र संविधान
दोस्रो जनआन्दोलनको १० वर्षपछि २०७२ सालमा संविधान बनेको थियो । आठ वर्ष लामो संघर्ष र अथक प्रयासपछि दोस्रो संविधानसभाले संविधान बनाएको थियो । यसअघि गणतन्त्रलाई संस्थागत गर्ने मूल कानुन बनाउन नसक्दा २०६९ सालमा संविधानसभा नै विघटन भएको थियो ।
२०७० सालमा भएको दोस्रो संविधानसभाबाट संघीयता, शासकीय स्वरूप र राज्यपुनःसंरचनामा प्रमुख राजनीतिक दलहरूबीच सहमति भएपछि २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएको थियो । सोही वर्षको सुरुमै विनाशकारी महाभूकम्पले ठूलो जनधनको क्षति भएपछि आपसी मतभेद थाँती राखेर संविधान बनाउन दलहरू एकमत भएका थिए ।
अहिलेको अकल्पनीय उलटफेर
२०७२ सालमा गणतन्त्र नेपालको नयाँ संविधान बनेपछि मुलुकले राजनीतिक स्थायित्व, सुशासन र समृद्धि पाउँछ भन्ने आम नागरिकको विश्वास थियो । तर, निर्वाचनबाट जितेर आएका राजनीतिक दलहरूले ‘म्याण्डेट’ विपरीत सत्ता गठन र विघटनमै व्यस्त भएपछि जनआक्रोश बढ्दै गएको थियो ।
२०७९ सालमा भएको निर्वाचनमा राजनीतिक दलप्रति जनताको आक्रोशका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ र वैकल्पिक शक्तिहरूले लोकप्रिय मत प्राप्त गरे । तर, नयाँ दलहरू समेत सहभागी भएको सरकारले समेत आम असन्तुष्टिलाई सम्बोधन हुनेगरी सरकारले कार्यक्रम ल्याउन सकेन ।
व्यापक जनअसन्तुष्टिका बीच पनि परम्परागत दल कांग्रेस, एमाले र माओवादी सत्ता राजनीतिको पुरानै खेलमा अल्झिए । प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई हटाएर गत वर्ष दुई ठूला दल कांग्रेस र एमालेको गठबन्धन सरकार बन्यो । सरकार बनेको दिनदेखि नै आमनागरिकको असन्तुष्टलाई हल गर्नेभन्दा पनि थप चिढ्याउने दिशातिर सरकार बढ्दै गयो । पछिल्लो समय केपी ओली नेतृत्वको गठबन्धन सरकारले समाजिक सञ्जालमाथि नै प्रतिबन्ध लगाएपछि जेन-जी युवाहरूको आक्रोश बढ्यो र परिणाम अहिले हाम्रासामु छ ।
७-१७ मा क्रान्ति र कू, ३७-४६/४७ मा संघर्ष र सफलता
२००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भएको थियो र त्यहीँबाट प्रजातान्त्रिक युगको थालनी भएको थियो । २००७ साल फागुन १७ गते आन्तरिक शासन विधान २००७ घोषणा गरिएको थियो ।
२००८ साल फागुन २६ गते प्रधानमन्त्री मोहन शमशेरले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । २००८ साल मंसिर १ गते मातृकाप्रसाद कोइरालाको नेतृत्वमा १४ सदस्यीय मन्त्रिपरिषद्को घोषणा भएको थियो ।
२०१२ साल असोज २२ गते पञ्चवर्षीय योजनाको घोषणा भएको थियो । २०१३ सालमा बिपी कोइरालाको नेतृत्वमा पहिलो जननिर्वाचित सरकारको गठन भयो । त्यसलगत्तै २२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियोे । तर, २०१७ साल पुस १ गते तात्कालीन राजा महेन्द्रले प्रजातन्त्रको हत्या गर्दै पञ्चायती व्यवस्थाको थालनी गरे।
२०१९ साल पुस १ गते पञ्चायती व्यवस्थामा आधारित संविधानको घोषणा भयो । २०३७ साल वैशाख २० गते नेपालमा बहुदलीय व्यवस्था कि सुधारिएको पञ्चायती व्यवस्था भन्नेमा जनमत संग्रहको घोषणा जेठ १ गते घोषणा गरिएको थियो । तर, पञ्चायत नै विजयी भयो । २०४६ साल फागुन ७ देखि चैत्र २६ सम्म नेपालमा जनआन्दोलन भयो ।
२०४६ साल चैत्र २६ गते भएको सहमतिले निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्वहाली, जनआन्दोलन सम्पन्न भएको थियो । २०४७ साल जेठ १६ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठनभएको थियो । २०४७ साल कात्तिक २३ गते नयाँ संविधानको घोषणा गरिएको थियो ।