काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेकपा (माओवादी केन्द्र) सहित विभिन्न कम्युनिष्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि वार्ता समिति गठन गरेको छ ।
गत भदौ २३ देखि २५ गतेसम्म् बसेको केन्द्रीय समिति बैठकले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।
वार्ता टोलीको सदस्यमा स्थायी समिति सदस्य अनिल शर्मा र कर्णजित बुढाथोकी रहेका छन् । माओवादी केन्द्रको स्थायी समिति बैठकले नेकपालगायतका कम्युनिष्ट घटकसँग एकता गर्ने निर्णय गरेको थियो । माओवादी र नेकपाबीच लामो समयदेखि एकताको चर्चा चलिरहेको भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।